नेपाली सेनाद्वारा ४१ जना सुत्केरीको उद्धार, वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ हुने – Nepal Press

नेपाली सेनाद्वारा ४१ जना सुत्केरीको उद्धार, वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ हुने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तर पश्चिम पृतना हेडक्वाटरले सुदूरपश्चिम र कर्णालीमा विभिन्न कार्य गर्दै आएको छ । पृतनाले कर्णाली प्रदेशका आठ र बाँके तथा बर्दियासहित दश जिल्लामा विभिन्न कार्य गर्दै आएको छ ।

पृतनाले चालू आर्थिक वर्षको ६ महिनामा कर्णाली र सुदूरपश्चिमबाट ४१ जना सुत्केरीहरूको हवाई उद्धार गरेको आइतबार एक कार्यक्रमबीच जानकारी दियो ।

कर्णालीको डोल्पामा चार, मुगुमा दुई, दैलेखमा ६, हुम्लामा दुई, रुकुममा दुई, जुम्लामा एक, कालिकोटमा तीन, रुकुम पश्चिममा एक र जाजरकोटमा पाँच जना सुत्केरी महिलाको उद्धार गरिएको पृतनाले जनाएको हो ।

यस्तै सुदूरपश्चिमको बैतडीमा एक, डोटीमा दुई, डडेलधुरामा एक, बाजुरामा तीन, दार्चुला र अछाममा चारचार जनाको उद्धार गरिएको जनाइएको छ ।

पृतनाले विपद् व्यवस्थापन कार्य पनि गर्दै आएको छ । २०७९ सालमा अविरल वर्षामा ४१ जना मृत्यु, २८ जना घाइते, २० जना बेपत्ता, ७७६ जना विस्थापित र २ हजार ८७८ जना प्रभावित भएको बताएको छ । त्यस्तै ६० परिवारको स्थानान्तरण र ६३ चौपायाको उद्धार गरिएको थियो ।

त्यस्तै हेलिकप्टरबाट १४ जनाको उद्धार, १४ हजार ७३५ केजी राहत सामग्री ढुवानी, २१२ जना परिचालन गरेर कालिकोटमा सात, बाँके र मुगुमा एकवटा अवरुद्ध सडक खुलाउने कार्य गरेको पृतनाले जानकारी दियो ।

पृतनाले आफ्नो कार्यक्षेत्रभित्र हेलिप्याड निर्माण पनि गरेको छ । जसमा कालिकोटको पचालझरना गाउँपालिका-६ मइ, हुम्लाको नाम्खा गाउँपालिका-४ यालवाङ्ग, मुगु सोरु गाउँपालिको सोरुकोट र डोल्पा शे-फोक्सुण्डो गाउँपालिका-८ रिग्मोमा हेलिप्याड निमार्ण गरेको हो ।

उक्त अवसरमा पृतनापति हिरालाल जोशीले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्दै आएको बताए । राष्ट्रिय विकास र विपद्मा नेपाली सेनाले काम गर्दै आएको उनले जानकारी दिए ।

यस्तै पृतनाले वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ २०७९ सुरु गरेको । पृतनापति जोशीका अनुसार उक्त अभियान माघ २१ गते शनिबारबाट थालनी हुनेछ ।

प्रतियोगितात्मक रन फर युनिटीमा स्थानीय नागरिक, खेलकुद क्लब, सांस्कृतिक समूह, सरकारी कर्मचारी, सुरक्षा फौज, गैरसरकारी संस्था, विद्यार्थी तथा शिक्षक, बैंक तथा वित्तीय र व्यापारिक संस्था तथा नेपाली सेनाका भूपू सैनिकहरू सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताअन्तर्गत हुने पाँच किलोमिटर दौडमा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

दश किलोमिटर दौडमा प्रथमलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने पृतनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *