जनताको भावना नबुझ्ने मान्छे मेयरको लायक हुँदैनः सुमन सायमी
'सबै संगठन उत्रिए बालेनलाई महानगरमा टेक्ने ठाउँ पनि हुँदैन'


काठमाडौं । उपत्यका सम्पदा संरक्षण अभियान्ता सुमन सायमीले जनताको भावना नबुझ्ने मान्छे मेयरको लायक नभएको भन्दै बालेन साहको आलोचना गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा खबरदारी सभामा सञ्चारकर्मीहरूसँग बोल्दै उनले जनताको निजी सम्पत्ति महानगरले गैरकानूनी तवरले लुटिरहेको टिप्पणी गरे ।
‘अव्यवस्थित पार्किङ, अवैध संरचना भत्काउनुपर्छ भन्छु । तर, जुन वैध छ, ट्याक्स तिरिरहेको छ भने त्यसमा हान्दा प्रक्रियागत रूपमा आउनुपर्यो’, उनले भने ‘जग्गा प्राप्ति ऐन छ, संवैधानिक मौलिक हक छ, धारा २५ र ३७ ले आवास र सम्पत्तिको हक दिएको छ, उहाँले त्यो कुरा नसच्याई डाँका मार्ने शैलीले आएपछि जनताले स्वीकार हुन्छ ? कि यो देशमा दुईवटा कानून छ भन्नुपर्यो ।’
मेयर साह नसच्चिए आफूहरूसँग सयौंका संख्यामा यस्ता संगठन रहेको भन्दै उनले सबै एकैचोटि उत्रिए बालेनको महानगरमा टेक्ने ठाउँसमेत नहुने चेतावनी दिए ।
‘उहाँ सच्चिनुपर्छ, उहाँ सच्चिनुभएन भने आमनागरिक चै उपत्यकाव्यापी नै आउँछ, यो सांकेतिकमात्र हो’, उनले भने ‘अहिले यो उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिबाट आयोजना गरेको हो, यस्ता संगठनहरु हाम्रो पचासौं सयवटा छ, एकजुट भएर सामूहिक निर्णय गरेर आयौं भने यो ठाउँमा टेक्ने ठाउँ हुँदैन ।’