जनार्दनले ल्याएको बजेटको अर्थवार्षिक समीक्षाका लागि समिति गठन, माघभित्रै सार्वजनिक गर्ने तयारी – Nepal Press

जनार्दनले ल्याएको बजेटको अर्थवार्षिक समीक्षाका लागि समिति गठन, माघभित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को बजेटको अर्धवार्षिक समीक्षा गर्न अर्थमन्त्रालयमा काम सुरू भएको छ ।

बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा समीक्षाका लागि समिति बनाइएको हो । सो समितिमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधि, अर्थमन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका उपसचिव रहेको प्रवक्ता आनन्द काफ्लेले नेपाल प्रेसलाई जानकारी दिएका छन् । यही माघभित्रै सार्वजनिक गर्ने गरी समीक्षा भइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयललाई आधार मान्ने हो भने लक्ष्यको ३३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो भनेको ४ खर्ब ७१ अर्ब ४७ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो वर्ष १४ खर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो ।

यस्तै पूँजीगत खर्च १५.५५ प्रतिशत भएको छ । यो भनेको ५९ अर्ब १६ करोड रुपैयाँ मात्र हो । यो वर्ष ३ खर्ब ८० अर्ब रुपैयाँ बजेट पूँजीगत शीर्षकमा छुट्याइएको छ । बजेटको आकारमा हेरफेर हुनसक्ने स्रोतको भनाइ छ

सरकारले चालू वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट झण्डै पाँच महिनासम्म उनैले कार्यान्वयन गरेका थिए । मध्यावधि समीक्षामार्फत बजेटको लक्ष्य संशोधन हुनेछ । यस्तै कार्यान्वयनको अवस्था र कार्यान्वयन गर्न नसक्नुको कारण पनि समीक्षामार्फत सार्वजनिक गर्ने चलन छ ।

चालू वर्षको बजेटमा निश्चित घरानाको स्वार्थमा प्रेरित भएर करका दर हेरफेर गरिएको भन्दै शर्माको आलोचनासमेत भएको थियो । बजेटले लिएको लक्ष्यअनुसार राजस्व संकलन भएको छैन भने पुँजीगत खर्च पनि निकै कमजोर देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *