नागरिक उन्मुक्ति प्रवेश गर्दै एलिजाले भनिन्- ठूला दलले बोलाएका थिए विचार मिलेर यता आएँ (भिडियो) – Nepal Press

नागरिक उन्मुक्ति प्रवेश गर्दै एलिजाले भनिन्- ठूला दलले बोलाएका थिए विचार मिलेर यता आएँ (भिडियो)

माग पूरा नभए कुनै सत्तामा जाँदैनौ : रन्जिता श्रेष्ठ

रुपन्देही । अभिनेत्री तथा मोडल एलिजा गौतम शनिवार रुपन्देही आएर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् ।

तराईमा खासगरी थारु बाहुल्य क्षेत्रमा नयाँ खुलेको पार्टीमा एलिजाको प्रवेशले उनलाई थप चर्चामा ल्याएको छ ।

कलाकारिता र अभिनयमा सफल हुन नसकेकी गौतम भूगोल केन्द्रित राजनीतितर्फ कसरी आकर्षित भइन् भन्ने विषयले अहिले चर्चा पाएको हो । रेशम चौधरी संरक्षक रहेको पार्टीमा प्रवेशले कलाकारहरूमा एउटा तरंग ल्याइदिएको छ ।

गौतमलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले पार्टीमा भित्र्याएकी हुन् । गौतमले अभिनय गरेका म्युजिक भिडियो र चलचित्र दर्शकले खासै रुचाएनन् । एलिजा पाँच वर्षअघि फिल्म ‘अनुराग’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

अध्यक्ष रञ्जिताले गौतमलाई पार्टी प्रवेश गराउँदै महत्त्वपूर्ण जिम्मेवारी दिने बताइन् । तर उनले एलिजालाई दिने जिम्मेवारी टुंगो नलागेको जनाएकी छन् । एलिजाले मुलुकका ठूला राजनीति दलहरूबाट आफूलाई पार्टीमा प्रस्ताव आए पनि उन्मुक्ति पार्टीको एजेण्डाले आफूलाई तानेको बताउँदै सामाजिक लोकतन्त्र र थारू अधिकार बोकेको नागरिक उन्मुक्ति पार्टीका विचारधारा आफूलाई मन परेपछि पार्टीमा जोडिएको जनाएकी थिइन् ।

गौतमसँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।

लिखित मन्तव्य राखेकी एलिजाले भनिन्, ‘हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरूको आवाज बोल्नेछ । हामी बेसहाराहरुको सहारा बन्नेछौँ । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउन्जेलसम्म अहोरात्र खटिइरहनेछौं ।म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईं मान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो ।’

कार्यक्रममा उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले ७ वर्षदेखि पहिचानको आन्दोलनमा रहेकाले आफ्ना माग पूरा नहुन्जेल कुनै सरकारमा नजाने बताइन् ।

‘पहिचानसहितको संघीयता माग गर्दा राज्यले हतकडी लगाएको छ, हामी यसकै विरुद्धमा लडिरहेका छौं, यी माग पूरा नहुँदासम्म हामी कुनै सरकारमा सहभागी हुँदैनौं’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर