४० प्रतिशत जलेका बिरामीलाई बचाउन कठिन, शरीरमा आगो लागे के गर्ने ? – Nepal Press

४० प्रतिशत जलेका बिरामीलाई बचाउन कठिन, शरीरमा आगो लागे के गर्ने ?

काठमाडौं । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल खनाएर आत्मदाहको प्रयास गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभामा सम्बोधन गरेर बाहिरिँदै गर्दा सो घटना भएको थियो ।

प्रधानमन्त्रीको सवारीका लागि सडक खाली गराउन खटिएका प्रहरीहरु सडकमा थिए । व्यस्त सडकको बीचमा एक्कासि प्रेमले आफ्नै शरीरमा पेट्रोल खनाएपछि सलाई कोरेर आगो झोसे ।

ट्राफिक प्रहरीको छेउमा नै उनले पेट्रोल खनाएर आगो लगाएका थिए । हेर्दाहेर्दै शरीरमा आगो ह्वारह्वारी बल्यो । व्यस्त सडकमा एउटा शरीर बलिरहेको देखेपछि यात्रु रोकिए । के गर्ने, कसो गर्ने ? कसैले सोच्नै भ्याएनन् ।

छेउमै रहेका ट्राफिक पनि एकछिन अलमलमा परे । शरीरमा लागेको आगो निभाउन न पानी थियो न त कुनै अभ्यास । अर्का प्रहरी पनि आए । उनी पनि केहीबेर रन्थनिए । पानी खोज्न जाने कि आगो निभाउने दोधारमा देखिए ।

केहीबेरको अलमलपछि सडक किनारमा बेच्न राखेको बोतलको पानी ल्याएर खन्याउन थालियो । अर्का प्रहरी स्याउला भाँचेर आगो निभाउनतिर लागे । तर, स्याउला र पानीले आगो निभाउँदासम्म प्रेमको शरीर ८० प्रतिशतभन्दा बढी जलिसकेको थियो । आगो निभाएपछि तुरुन्तै उनलाई उद्धार गरेर कीर्तिपुरस्थित क्लिफ एण्ड वर्न अस्पताल पुर्‍याइयो । तर, उनलाई बचाउन सकिएन । छेउमै प्रहरी भएर पनि तत्काल आगो निभाउन नसक्दा प्रेमको ज्यान गयो ।

केही महिनाअघि मात्रै धुम्बाराहीमा एक महिलाले पेट्रोल छर्किएर आत्मदाह गरिन् । प्रेमीले इंगेजमेन्ट तोडेको भन्दै प्रेमीको धुम्बाराहीस्थित घरको गेटमा पुगेर उनले शरीरमा आगो लगाएकी थिइन् । त्यस घटनामा पनि उनले पेट्रोल खनाएर शरीरमा आगो बालेको स्थानीयले देखेका थिए । तर, के गर्ने कसो गर्ने भनेर कसैले सोच्न सकेनन् । पानी ल्याउन नभ्याउँदै पुष्पाको शरीर पूरै जलिसकेको थियो । उनको शरीरको आगोसमेत निभाउन नभ्याइ प्राण गयो ।

नेपालमा आत्महत्याका घटना धेरै हुन्छन् । तर, सार्वजनिक स्थानमा शरीरमा आगो लगाएर मृत्युवरण गर्ने नयाँ ट्रेन्ड देखिएको छ । यसरी अचानक कसैको शरीरमा आगो लागेमा वा आगोमा परे कसरी बचाउने त ? सबैले जान्नुपर्ने आवश्यकता देखिएको छ । प्रहरीलाई समेत यस्ता घटनामा पूर्वतयारी तथा तालिमका लागि सोच्न बाध्य बनाएको छ ।

चाहे त्यो आत्मदाह होस् वा आगलागी । एक त जलेको शरीरको उपचार गर्ने अस्पताल नेपालमा एकदमै कम छ । अझ भनौं, जलनकै उपचार गर्ने कीर्तिपुर बर्न अस्पताल र साँखुस्थित सुष्मा कोइराला गरी दुई अस्पतालमात्र छन् ।

यस्तो अवस्थामा वा आगलागीमा परेको वेला मानिसको शरीरमा लागेको आगो तत्काल कसरी निभाउने त ? यो प्रश्न हामीले कीर्तिपुरस्थित क्लिफ तथा बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारलाई सोध्यौं ।

शरीरमा आगो लागेको अवस्थामा पानीले हतपत आगो ननिभ्ने उनी बताउँछिन् । सबैभन्दा पहिला आगो लागेको देख्नेबित्तिकै पानी हाल्नेभन्दा पनि आगो लागेको शरीरलाई सम्म ठाउँमा गुल्ट्याउनु उत्तम उपाय भएको उनको भनाइ छ ।

डा. ताम्राकारको भनाइ जस्ताको तस्तैः

कसैको शरीरमा आगो लागेको देखेपछि सबैभन्दा पहिला त आगो निभाउनतिरै लाग्ने हो । आगो निभाइसकेपछि सामान्य पानीले कम्तिमा आधा घण्टासम्म पोलेको भागमा चिसो पारेर राख्नुपर्छ । चिसो भइसकेपछि थप संक्रमण हुन नदिन केही कपडाले छोपेर त्यसपछि अस्पताल लैजानुपर्छ ।

शरीरमा आगो निभाइसकेपछि पनि आधा घण्टासम्म जलेको भागमा पानी हालिराख्नुपर्ने हुन्छ । त्यसो गर्दा जलेको घाउ गहिरो हुन पाउँदैन । आगलागी भएपछि पानी हालेको हालेयै गर्नुपर्छ ।

अस्तिको केसमा हेर्दा सबैजना अलमलमा परेको जस्तो देखियो । त्यस्तो अवस्थामा पीडितलाई भूईंमा सुताएर गुल्ट्याउनुपर्छ । अर्थात, पीडितलाई लडिबुडी खेल्न भन्नुपर्छ । त्यसरी पीडित लडिबुडी गरेको खण्डमा आगो निभ्छ । घरमा आगलागीमा परेको वेला पनि त्यसरी नै आगो निभाउनुपर्छ ।

४० प्रतिशतभन्दा बढी जलेकाहरुलाई बचाउन गाह्रो पर्छ । कहिलेकाहीं २५ प्रतिशत भाग जलेकोलाई पनि बचाउन सकिँदैन । कुन अंग जलेको छ भन्नेमा भर पर्छ । जलनको उपचार नै जटिल हुने भएकाले बोल्दाबोल्दै पनि मानिसको मृत्यु हुनसक्छ ।

इनेलेसन इन्जुरी भयो भने कति इनेलेसन भएको छ भनेर हेर्न सकिँदैन । धुवाँहरु फोक्सोमा कति गयो भनेर थाहा हुँदैन । त्यसकारण बचाउन गाह्रो हुन्छ । शरीर कति प्रतिशत जल्यो भन्ने आधारमा नै बढी खतरानाक हो वा होइन निर्क्येल गरिन्छ ।

यस्तै, सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी पनि जलनका बिरामी बाँच्ने सम्भावना कम हने बताउँछन् ।

उनको भनाइ यस्तो छः

पहिलो कुरा त सबैभन्दा छिटो अस्पताल पुग्नुपर्‍यो । उपचार जति छिटो सुरु भयो बाँच्ने सम्भावना त्यति नै हुन्छ । आगोले पोल्दा घाँटीको स्वासनलीमा पोलेको छ कि छैन, त्यसले पनि फरक पार्छ । स्वासनली जल्यो भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ । कत्तिको गहिरो छ भन्ने कुरामा पनि भर पर्छ ।

सतहमा मात्रै जलन छ भने बाँच्ने सम्भावना धेरै हुन्छ । जति गहिरो जल्यो त्यति बाँच्ने सम्भावना पनि कम हुन्छ ।

जलनका बिरामी बचाउनका लागि स्याउलाले भन्दा पनि भिजाएको कपडाले छोपेर लडिबुडी गर्न लगाउने हो । जमिनमै रोल गर्‍यो भने छिटोभन्दा छिटो आगो निभ्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर