बाङ्गलादेशका पर्यटकलाई भेडेटारमा रुद्राक्ष र धनकुटे बिस्कुटले स्वागत – Nepal Press

बाङ्गलादेशका पर्यटकलाई भेडेटारमा रुद्राक्ष र धनकुटे बिस्कुटले स्वागत

भेडेटार । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को आयोजनामा भएको कार्यक्रममा भेडेटार आएका बाङ्गलादेशी पर्यटकलाई रुद्राक्ष र धनकुटे बिस्कुटले स्वागत गरिएको छ ।

डेस्टिनेसन मार्केटिङ कन्क्लेब नामको शुक्रबारबाट सुरु भएको चार दिने कार्यक्रममा बाङ्गलादेशका सात जना सहभागी आएका छन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेर सडक मार्गबाट धरान हुँदै भेडेटार आएका हुन् ।

होटल नेपालय बुटिकमा उनीहरुको स्वागत गर्दा रुद्राक्ष र धनकुटे बिस्कुट दिइएको हो । ‘मालाको रूपमा रुद्राक्ष लगाइदिएका हौं र चियासँगै धनकुटाको उत्पादन र पहिचान हुने धनकुटे बिस्कुट दिएका हौं’, होटल सञ्चालक स्नेहा श्रेष्ठ भन्छिन् ।

कार्यक्रममा आएका बाङ्गलादेशको छुटी बाङ्गलादेश नामक पर्यटन कम्पनीका प्रबन्ध निर्देशक नौरोज इम्तिआजले रुद्राक्ष र धनकुटे बिस्कुटमा चासो लागेको बताए । उनले भने, ‘मैले अहिलेसम्म रुद्राक्ष लाएको थिएन । यो बिस्कुट नि खाएको थिएन । दुवै अनुभव राम्रो र गज्जब भयो ।’

प्रदेश १ को इटहरी, धरान, धनकुटा, कोसी टप्पु र मोरङका विभिन्न क्षेत्रलाई प्रवर्द्धन गर्न आयोजना भएको पाटाको प्रादेशिक कार्यक्रममा नेपाल, भारतसहित बङ्गलादेशदेखि अमेरिकासम्मका दर्जनौं पर्यटन पेशाकर्मीहरु सहभागी भएको कार्यक्रमका आयोजकसमेत रहेको प्रिमियर होटल स्कुलका सीईओ सुनिल भुसालले बताए ।

उनले भने, ‘अमेरिकी फोटोग्राफरदेखि नेपाल, भारत, बाङ्गलादेशका दिग्गज पर्यटन पेशाकर्मीको कार्यक्रम भएकाले धेरै महत्त्वपूर्ण छ । प्रदेश १ को मार्केटिङमा यसले भूमिका खेल्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर