स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेकाहरुको लागि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ – Nepal Press

स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेकाहरुको लागि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ

सिन्धुपाल्चोक । स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका स्थानीयलाई लक्षित गरेर सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीहरुमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ ।

वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य इकाइहरु सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिए ।

सुनकोशी गाउँपालिकाको वडा नम्बर १ मा दुई, ३, ५ र ७ वडामा एकएक वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको उनले बताए ।

सामुदायिक स्वास्थ्य इकाइमा प्राथमिक उपचारका सबै सेवा उपलब्ध हुनेछ । त्यस्तै ओपीडी, बाल स्वास्थ्यलगायतका सेवा र सुविधा यस्ता स्वास्थ्य इकाइहरुमा उपलब्ध हुनेछ ।

सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सुविधा भने उपलब्ध नहुने स्वास्थ्य शाखाका प्रमुख हायुले बताए । प्रत्येक सामुदायिक स्वास्थ्य इकाइमा अहेव र अनमिको दरबन्दीसहित राज्यबाट उपलब्ध हुने सबै प्रकारका औषधिसमेत निःशुल्क उपलब्ध हुनेछ ।

गाइपाइले सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन

सुनकोशी गाउँपालिका-७ को गाइपाइलेमा नयाँ स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइको बागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले शुभारम्भ गरेका छन् ।

गाउँपालिकाको सहयोगमा सञ्चालनमा आएको सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन सुरु भएपछि स्वास्थ्य चौकीसम्म जानुपर्ने बाध्यताबाट सेवाग्राहीहरु मुक्त भएका छन् ।

स्थानीय सरकार आएपछि गाउँमा नै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु आएपछि स्थानीय खुशी भएका छन् । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले स्थानीय सरकारले स्थानीयको शिक्षा, स्वास्थ्यका लागि सबै काम गर्न तयार रहेको बताए ।

गाउँपालिकाका अन्य स्थानमा समेत आवश्यकताको आधारमा यस्ता सामुदायिक स्वास्थ्य इकाइहरु स्थापना गरेर स्थानीयलाई गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उनले बताए ।

गाउँपालिकाले केही दिनभित्रै सबै दीर्घरोगीहरुलाई निःशुल्क औषधि उपलब्ध गराउन लागेको अध्यक्ष तिमल्सिनाले बताए । कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका पूर्वअध्यक्ष कमल नेपाल, वडाध्यक्ष ईश्वर तिमल्सिना, स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुलगायतको उपस्थिति थियो ।

सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरेर स्वास्थ्य सेवाको सुरुवातको अवसरमा आसपासका सयौंको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर