मधेस प्रदेश: दुई मन्त्रीले गरे पदभार ग्रहण, अर्थमन्त्रीको बाँकी – Nepal Press

मधेस प्रदेश: दुई मन्त्रीले गरे पदभार ग्रहण, अर्थमन्त्रीको बाँकी

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहा र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहाले जनकपुरधामको मुरली चोकमा रहेको कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले किसानहरुका लागि विगतमा आन्दोलन गरेको सम्झिँदै आजैबाट किसानहरुको समस्या समाधान गर्न लाग्ने बताए ।

मन्त्री कुशवाहाले किसान कार्ड लागू गर्ने, मलखादको समस्या समाधान गर्ने र उखु किसानहरुको समस्या पनि बुझेर समाधान गर्न आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाए ।

यस्तै नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मधेस भवनमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेर पदभार ग्रहण गरे ।

पदभार ग्रहण गर्दै उनले मधेसको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसंँ जोड्न मधेसको गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री सरोजकुमार यादवसँगै पुस २९ गते बसन्त कुशवाहा, सरोजकुमार यादव र सञ्जय यादवले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । बिहीबार मन्त्रालय तोकिएपछि कुशवाहा र यादवले पदभार ग्रहण गरेका हुन् ।

तर, अर्थमन्त्री सञ्जय यादवले अझै पदभार ग्रहण गरेका छैनन् । स्रोतका अनुसार उनले आइतबारमात्रै पदभार ग्रहण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर