न्यायाधीश खतिवडाले भने- रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सुरू भएको छ । न्यायाधीश ईश्वर खतिवडाले अमेरिकी नागरिक रहेकै अवस्थामा रविले नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य भएको बताए ।
रविको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
खतिवडाले भने, ‘सन् २०१४ मा उनले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो ।’
वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यक कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किने हो त भन्दै प्रश्न गरेका थिए । त्यसमा पनि न्यायधीश खतिवडाले कडा जवाफ फर्काए ।
उनले भने, ‘नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा ?’
अहिले रविका वकिलहरूको बहस जारी रहेको छ । सम्भव:त आजै मुद्दाको फैसला आउनेछ ।