भैरहवा भन्सारको राजस्व आधा घट्यो, यस्ता छन् कारण – Nepal Press

भैरहवा भन्सारको राजस्व आधा घट्यो, यस्ता छन् कारण

रुपन्देही । केही मालवस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने र पैठारीमा लगाइएका प्रतिबन्धले देशकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको रुपन्देहीको भैरहवा भन्सार कार्यालयको राजश्व संकलन विगतभन्दा आधाले घटेको छ ।

कोरोनाकाल र नाकाबन्दीमा समेत लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको यो नाकामा सरकारी नियम नै लक्ष्य कम हुनुको पहिलो कारण भएको यहाँका अधिकारीको भनाइ छ । व्यवसायीहरूले पनि अदूरदर्शी नीतिका कारण यसरी प्रभावित भएको बताएका छन् । भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा झण्डै आधाले राजश्व संकलनमा गिरावट आएको देखाउँछ ।

आर्थिक वर्ष २०७८/२०७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएको थियो । तर, चालू आर्थिक वर्षको यही अवधिमा १ खर्ब १२ अर्ब ९३ करोडको आयात भएको छ । प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले यसबाट ३५ अर्ब ४४ करोड मात्रै राजश्व संकलन भएको जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमी आएको हो । उनकाअनुसार सरकारले बनाएको नियमन नै यसको प्रमुख कारक बनेको हो ।
यसवर्ष केही मालवस्तु आयात गर्दा अनिवार्य मार्जिन राख्नुपर्ने र पैठारीमा लगाइएका प्रतिबन्धका कारण राजश्व संकलन खुम्चिएको तर्क भन्सार प्रमुख पौडेलको छ । उनका अनुसार अहिले सरकारले यो प्रावधान हटाएकाले भने अब राजश्व वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसअघि सरकारले जीप, कार र भ्यानलगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गराएको थियो । जसले गर्दा यी वस्तु आयात निकै कम भएको छ । व्यवसायी अनुप सिंहका अनुसार सरकारले योजनाविनै ल्याएको यस्तो नीतिले भन्सार गरेर ल्याउने व्यवसायीले चोरीपैठारीको समान किन्नुपरेको बताए ।

‘बजारमा सामान अभाव नै छैन, भन्सारबाट मात्र नआएको हो’, उनले भने ।

भन्सार कार्यालयका अनुसार अनिवार्य मार्जिन राख्नुपर्ने प्रावधानका कारण अघिल्लो वर्ष भन्दा यस वर्ष ती वस्तुबाट २३ अर्ब ८९ करोड राजश्व असुली कमी भएको छ । यस्तै, जीप, कार र भ्यानबाहेक पैठारी प्रतिबन्ध लगाइएका अन्य वस्तुबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष ३ अर्ब ३५ करोड राजश्व असुली कमी भएको छ । यस्तै, विगतका वर्षमा नियमित आयात हुने वस्तु पनि यस वर्ष घटेको छ । यसबाट ४ अर्ब ४९ करोड राजश्व प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।

चालू आवमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य तोकेको छ । आर्थिक वर्षको आधा समयावधि घर्किसकेकाले यो लक्ष्य पूरा गर्न भन्सारलाई कठिन छ । भन्सार प्रमुख पौडेलले तोकिएको लक्ष्य पूरा गर्न राजश्व चुहावटलाई नियन्त्रण गर्ने, गस्ती गर्ने, चेकजाँचमा थप कडाइ गर्ने र राजश्व संकलनमा सुधार गर्ने अपेक्षा लिएको बताए ।

नेपाल भन्सार एजेन्ट संघका सिद्धार्थनगर रुपन्देही अध्यक्ष मधुप्रसाद पन्थीले राष्ट्रबैंकले ल्याएको नीतिले पैठारी कम भएको र भन्सार घटेको हो ।

‘बजार पनि कम भयो, तरलता अभावउस्तै छ, पहिले टायलमार्वल उधारो आउँथ्यो, अहिले अनिवार्य एलसी बनाउनुपर्‍यो, बैंकले लगानी गर्न छाड्यो, व्यवसायी धरापमा परे, बजारमा चोरीपैठारी बढायो, एलसी खोलेर सानो वस्तु ल्याउन समस्या हुन्छ’, पन्थीले भने ।

‘गाडीको आयात ९२ प्रतिशत कम भएको छ, राजश्व स्रोतमा आधारित अर्थतन्त्रलाई समस्या पार्‍यो, यता उत्पादन केही छैन उता रोकेर के गर्ने, आन्तरिक उत्पादन घटेको अवस्थामा यसलाई राम्रो मान्न सकिन्न ’, उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *