प्रचण्ड सरकारमा लुम्बिनीका ५ जना मन्त्री : ३ नयाँ, २ अनुभवी – Nepal Press

प्रचण्ड सरकारमा लुम्बिनीका ५ जना मन्त्री : ३ नयाँ, २ अनुभवी

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लुम्बिनी प्रदेशका ५ जनाले उपस्थिति जनाएका छन् । ५ मध्ये २ जना यसअघि पनि मन्त्री बनेका हुन् । ३ जना नयाँले यसपटक मौका पाएका हुन् । लुम्बिनीबाट नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जनमत पार्टीका सांसदहरु मन्त्री बन्न सफल भएका छन् ।

रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य जितेका एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री छन् । उनी पटक-पटक मन्त्री बनेका अनुभवी हुन् । पौडेल एमालेको नेतृत्व गर्दै दोस्रो वरियतामा सरकारमा छन् ।

उनीसँगै जनमत पार्टीका उपाध्यक्ष बर्दियाका अब्दुल खान मन्त्री बने । मन्त्रिपरिषद् विस्तार गरिँदा सञ्चारमन्त्री दाङकी रेखा शर्मा, कानूनमन्त्रीमा नवलपरासीका ध्रुवबहादुर प्रधान र अर्घाखाँचीकी  सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री बने ।

अनुभवी विष्णु

२०५१ सालदेखि निरन्तर सांसद बनेका एमाले उपाध्यक्ष विष्णु पौडेल पटक–पटक मन्त्रीसमेत बनेका अनुभवी हुन् । प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा उपप्रधान एवं अर्थमन्त्री बनेका उनी अर्थमा तेस्रोपटक पुगेका छन् । पौडेल रुपन्देही २ बाट लगातार चौथो पटक निर्वाचित भएका छन् ।

२०५१ सालमा पाल्पाबाट सांसद बनेका उनी त्यसपछि रुपन्देहीबाट संसदीय यात्रामा निरन्तरजस्तै छन् । २०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल २०५४ सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए । तर, २०६४ सालदेखि सोही क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

यसबीचमा उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोतमन्त्री बने । झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली पहिलोपटक प्रधानमन्त्री हुुँदा पौडेल अर्थमन्त्री बनेका थिए । एमाले माओवादी मिलेर बनेको नेकपाको महासचिव बनेका पौडेल दोस्रोपटक ओलीको सरकार ढल्ने समयमा पुनः अर्थमन्त्री भएका थिए ।

पहिले सामान्य प्रशासन सम्हालेकी रेखा अहिले सञ्चारमन्त्री

सञ्चारमन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । शर्मा यसअघि सामान्य प्रशासनमन्त्री भएकी थिइन् ।

शर्मा माओवादीबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एक्ली महिला संसद हुन् । माओवादी केन्द्रले ८ जना महिलालाई टिकट दिएको थियो । तर, निर्वाचनमा रेखाले मात्र माओवादीको विरासत बचाउन सकिन् । तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले पोखरेललाई जम्मा १९६ मतान्तरले हराएकी थिइन् । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८१ मत पाएका थिए ।

२०७० बाट संसदीय यात्रा सुरु गरेकी शर्मा २०७४ मा प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित भएकी थिइन् । २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासनमन्त्री बनेकी थिइन्

पाँचौं प्रयासमा सांसद बन्न सफल ध्रुवबहादुर

नेपाल प्रहरीको आईजीपी बनेर राजनीतिमा आएका धु्रवबहादुर प्रधान पाँचौं प्रयासमा यसपटक प्रतिनिधिसभा सदस्य बन्न सफल भएका हुन् । राप्रपाका उपाध्यक्ष प्रधान कानूनमन्त्री बनेका छन् । २०५३ सालमा प्रधान नेपाल प्रहरीका महानिरीक्षक बनेका थिए ।

अवकाशपछि राजनीतिमा आएदेखि लगातार चुनाव लड्दै आएका उनी यसपालि पश्चिम नवलपरासी २ बाट निर्वाचित भएका हुन् । उनले  तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रभावशाली नेता देवेन्द्रराज कँडेललाई  पराजित गरेका थिए ।

३५ वर्षमै मन्त्री बन्न सफल अब्दुल

बर्दियाका अब्दुल खान कम उमेरमै मन्त्री भएका छन् । खान ३५ वर्षमै मन्त्री भएका हुन् । जनमत पार्टीबाट समानुपातिक सांसद बनेका खान सो पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । जनमतले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सीट जितेको थियो ।

पार्टी अध्यक्ष सीके राउत सरकारमा नजाने भएपछि उपाध्यक्ष खान गठबन्धन सरकारमा सहभागी भएका हुन् । सुरुमा विनाविभागीय मन्त्री बनेका खानलाई पछि खानेपानी मन्त्रालय दिइएकाे थियाे । तर, पार्टीले उद्याेग मन्त्रालय मागेकाे भन्दै उनले सातादिन पदभार ग्रहण गरेनन् ।

२०४३ साल भदौ १ गते बर्दियाको गुलरिया नगरपालिका- ११ ओसीपुरमा पिछडिएको समुदायको सामान्य किसान परिवारमा जन्मेका उनले स्थानीय सामुदायिक विद्यालयमा माध्यमिक तहको अध्ययन पूरा गरेका थिए । एसएलसीसम्म बर्दियामै अध्ययन गरेका खानले आईएस्सी भने टीकापुरबाट गरेका थिए । आईएस्सीपछि थप अध्ययन गर्न उनी काठमाडौं लागेका थिए ।

काठमाडौंमा अध्ययन गर्दा उनको सम्पर्क सीके राउतसँग भएको उनी निकट नेताहरु बताउँछन् । २०६९ सालमा स्वतन्त्र मधेस आन्दोलनमा लागेर लामो समयसम्म भूमिगत भएका खान आन्दोलनकै क्रममा धेरैपटक जेल परिसकेको उनका सहयात्रीहरु बताउँछन् । उनीमाथि राज्य विप्लव र सार्वजनिक मुद्दा लागे पनि हिरासतमुक्त भएपछि उनी पार्टीको राष्ट्रिय उपाध्यक्ष भएका हुन् ।

पहिलोपटक मन्त्री बनेकी श्रीपाली

पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली अर्घाखाँचीकी हुन् । उनले २०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी हुन् । २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी भएकी थिइन् । उनी २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लागेकी हुन् ।

अहिले माओवादी केन्द्रीय सदस्य रहेकी श्रीपालीकी श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन् । २०६८ मा उनी दलित आयोगको सदस्य भएकी थिइन् । उनी अहिले समानुपातिक सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर