गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला हिन्दू राष्ट्र हुनुपर्छ भनेर उभिएको मान्छे हुँ : राजेन्द्र लिङ्देन – Nepal Press

गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला हिन्दू राष्ट्र हुनुपर्छ भनेर उभिएको मान्छे हुँ : राजेन्द्र लिङ्देन

रूपन्देही । उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले असाध्यै कष्टकर दिनहरुमा पनि नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित डण्डा नदीको किनार (ठूलो बालापुर) स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार बोल्दै यस्तो बताएका हुन् ।

लिङ्देनले भने, ‘गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको मान्छे हुँ । त्यसकारण हिन्दूत्वसँग सम्बन्धित कार्यक्रमहरु जहाँ आयोजना गरिए पनि आफ्नै कार्यक्रम जस्तो लाग्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष लिङ्देनले धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा आफू आनन्दित भएको बताए । उनले नेपालको ऐतिहासिक जगदगुरु पीठ निर्माण भएपश्चात यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने बताए । उनले भने, ‘नेपालका एक मात्र जगतगुरुको चार वटा क्षेत्र पीठमध्ये ३ स्थानमा भएको र एउटा शुभारम्भ हुन थालेको छ ।’

उनले जगदगुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो कार्यमा पवित्र मनले सहयोग गर्न अपील गरे । उनले भने, ‘राजनीतिक दलका नेता कार्यकर्ता तथा प्रतिनिधिलाई सक्रिय सहयोग र सहभागिताको लागि अपील गर्दछु । ’

उपप्रधानमन्त्री लिङ्देनले लुम्बिनी क्षेत्र आफैमा धार्मिक पर्यटनको महत्वपूर्ण क्षेत्र भएको र जगदगुरु पीठ निर्माणले धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटनमा समेत टेवा पुर्याउने उल्लेख गरे ।

जगदगुरु मोहनशरण देवाचार्यले माघ ४ गतेदेखि सुरु भएको महायज्ञमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै आ–आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकार राधेश्याम विश्वकर्मा, रबिन्द्रप्रताप गुप्ता र मनोज क्षेत्रीलाई सम्मान गरिएको थियो । त्यस्तै महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

सुनसरीको चतराधाममा वि.सं. २०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु बहादुर रायमाझीले बताए ।

पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगदगुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ पनि भएको महायज्ञ आयोजक समितिका सदस्य कमल रायमाझीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर