भन्सार विन्दूबाट हुने चुहावट बढ्यो, रोक्न सरकार निर्मम हुन्छ : अर्थमन्त्री पौडेल (भिडिओ) – Nepal Press

भन्सार विन्दूबाट हुने चुहावट बढ्यो, रोक्न सरकार निर्मम हुन्छ : अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विन्दूमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् ।

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार विन्दूबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेकाले चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।

भन्सार बिन्दूबाट कुनै वस्तुको आयात घट्ने तर बजारमा सोही वस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौती दिने काम भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा चालू आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेरमात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे ।

राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले राजस्व संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राखे । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उनले निर्देशन दिए ।

उहाले भन्सार क्षेत्रलाई थप आधुनिकीकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको धारणा राखे । अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर