छुट्टै निर्वाचन आचारसंहिता चाहिँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको लागि छुट्टै निर्वाचन आचारसंहिता बनाइराख्न नपर्ने बताएका छन् ।
बिहीबार निर्वाचन आयोगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले निर्वाचनको वेलामा मात्रै इमानदार हुनुपर्ने तर, अरुवेला बेइमान भए पनि हुने भन्ने अर्थ लाग्ने व्यंग्यसमेत गरे ।
त्यसैले चाहिने कुरा ऐनमै राखिदिने हो भने छुट्टै आचारसंहिता आवश्यक नपर्ने उनको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन आचारसंहिता भन्ने विषय छुट्टै बनाइराख्नुपर्छ भन्ने मलाई लाग्दैन । ऐनमा राख्ने कुरा ऐनमै राखिदिउँ । निर्वाचनको बेलामा चै एकदम नियमित हुनुपर्ने, इमानदार हुनुपर्ने, अरुवेला बेइमान भए पनि हुने भन्ने व्याख्या हुन्छ र ? इमान, जमान, निष्ठा भन्ने विषय त सधैं चाहिने विषय हुन् नि !’
उनले निर्वाचनमा आमसञ्चारको अनुगमन आमसञ्चारको अनुगमन गर्ने आधिकारिक निकायबाटै हुने गरी ऐनमै समावेश गरिसकेको बताए ।