कांग्रेस र नैतिकताबीच अभेद्य पर्खाल ! – Nepal Press
फरक मत

कांग्रेस र नैतिकताबीच अभेद्य पर्खाल !

प्लेटो भन्छन्- ‘नैतिकतासँग नजोडिएको राजनीति स्वयम् राजनीति गर्नेहरुका लागि पनि प्रत्यूत्पादक हुन्छ ।’ अर्थात नैतिकता र राजनीतिबीच एकता हुन जरुरी छ । तर, नेपाली कांग्रेसले पछिल्लो समय नेपालको राजनीति तथा आफ्नै पार्टीभित्र पनि लिएको नीति हेर्दा लाग्छ- ‘कांग्रेसको मूलधार र नैतिकताबीच अभेद्य पर्खाल छ ।’ विश्व प्रख्यात समाजशास्त्री म्याक्स वेबर ‘प्लेटो’को भनाइमै मद्दत पुग्ने गरी भन्छन्- ‘राजनीतिज्ञ हुनु भनेकै नैतिकता अंगाल्नु हो ।’ तर, नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत, लोकतन्त्रको पर्याय भनेर चिनिएको कांग्रेसभित्रको आन्तरिक राजनीति र कांग्रेस नेताहरुको अभिव्यक्ति हेर्दा लाग्छ- कांग्रेस यतिवेला राजनीति नगरी केवल माछा बजारमा माछा बेचिरहेछ ।

विकसित राजनीतिक घटनाक्रम अघि पृष्ठभूमितिर फर्केर हेरौं, बीपीकालीन समयदेखि देखापरेको कांग्रेसभित्रको दुई धार विद्यमान छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको धारले लिँदै आएका निर्णयउपर संस्थापनइतर धारको नेतृत्व गर्दै आएका गगनकुमार थापा नेतृत्वको धारले फरकमत राख्दै आयो । त्यो फरक मत स्थानीय निर्वाचनमा गठबन्धन गर्न हुँदैन भनेर राख्यो, आम निर्वाचनमा गठबन्धन वामपन्थी शक्तिसँग नगरौं भनेर राख्यो । पछिल्लो समय बहुमतकै आडमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएर प्रतिपक्षमा बसौं भन्दै आफ्नो संसदीय दलभित्र लिखित नै असहमति राख्यो । हुँदा-हुँदा स्थानीय र आम निर्वाचनताका कांग्रेसबाहेकका गठबन्धनभित्रका दललाई ‘मत’ नदिनेलाई कारबाहीको चेतावनीसमेत दिइयो ! तर, कांग्रेसको ‘विरासत’ जोगाउन पनि हिजो ‘गठबन्धन’ पनि बेठीक थियो र आज ‘प्रचण्ड सरकार’लाई विश्वासको मत दिनु पनि बेठीक छ भन्दै महामन्त्री थापा-शर्मा समूहले पार्टी मूलधारको निर्णयभन्दा आफूलाई पृथक राख्दै आयो ।

नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत, लोकतन्त्रको पर्याय भनेर चिनिएको कांग्रेसभित्रको आन्तरिक राजनीति र कांग्रेस नेताहरुको अभिव्यक्ति हेर्दा लाग्छ- कांग्रेस यतिवेला राजनीति नगरी केवल माछा बजारमा माछा बेचिरहेछ ।

तर, रोचक पक्ष यति नै बेला महामन्त्री थापाकै पक्षका भनिएका नेता धनराज गुरुङलगायत भने आफ्नै पक्ष कमजोर ‘बन्ने र बनाउने’ आश्चर्यजनक अभिव्यक्ति सार्वजनिक गर्दैछन् । एकातिर डा. शेखर कोइराला-गगन थापा समूहमा सामूहिक तस्वीर खिचाउन ३६ भन्दा बढी सांसद आवद्ध छन् । तर, गगन थापाले भने २५ भोटमात्र ल्याउँछन् । अर्कातिर आफ्नो टीम हार्दा सामूहिक चिन्ता पनि गरिँदैन । सभापति शेरबहादुर देउवाबाट पार्टी चलेन भनिन्छ । तर, पार्टी चलेन भनेर विचार सार्वजनिक गर्ने महामन्त्री थापाले आफ्नै टीमबाट समेत साथ पाउँदैनन् । यसबाट कांग्रेस कता जाला भन्ने कुराको भेउ पाउनसमेत हम्मे-हम्मे देखिन्छ ।

ंग्रेसभित्र दुवै समूहमा व्यापक समस्या देखापर्दै गएको छ । कांग्रेसभित्र झाँगिदै गएको समस्याका बारे पार्टी नेतृत्वलाई एउटा धार भन्ने आँटै गर्दैन भने अर्काे धार आफूभन्दा आफ्नो समूहभित्र अरु नै पो नेता भैहाल्लान् कि भन्ने चिन्तामा डुबिरहेछन् । यहीनिर कांग्रेसको अवस्थालाई चित्रित गर्ने ‘मुगल सम्राट’को प्रिय हात्तीको मृत्युको कथा जोड्नु सान्दर्भिक रहला । मुगल सम्राट हात्तीका शौखिन थिए । अचानक एकदिन उनको प्रिय हात्तीको मृत्यु भयो । तर, हात्तीसारका कोही पनि कर्मचारीमा हात्ती मरेको सन्देश मुगल सम्राटसामु पुर्‍याउने आँट नै भएन । एउटाले भन्यो- सरकार हात्ती चिसो छ । अर्काेले भन्यो- सरकार हात्ती आँखा झिम्क्याउँदैन । तेस्रोले भन्यो- सरकार हात्ती पुच्छर हल्लाउँदैन, आदि-इत्यादि । सम्राटले पशु चिकित्सकलाई हात्तीसारमा पठाए, चिकित्सक पनि फर्केर आए र भने- सरकार जीवित हात्तीमा हुनुपर्ने ‘तापक्रम’ हजुरको हात्तीमा छैन । अन्तमा सम्राटले माउते पठाए, माउतेले पनि फर्किएर आउनासाथ लामो सास फेर्दै भन्यो- सरकार, हात्ती चलमल केही गर्दैन ! सम्राटले प्रतिप्रश्न गरे- के मेरो प्रिय हात्ती मरेकै हो त ? माउतेले जवाफ फर्कायो- सरकार, म बबुरोले हजुरको प्रिय हात्ती म¥यो नै त कसरी भनौं । तर, हेर्दा त्यस्तै देखिन्छ ।

कांग्रेसभित्र दुवै समूहमा व्यापक समस्या देखापर्दै गएको छ । कांग्रेसभित्र झाँगिदै गएको समस्याका बारे पार्टी नेतृत्वलाई एउटा धार भन्ने आँटै गर्दैन भने अर्काे धार आफूभन्दा आफ्नो समूहभित्र अरु नै पो नेता भैहाल्लान् कि भन्ने चिन्तामा डुबिरहेछन् ।

मुगल सम्राटको उल्लेखित हात्तीको कथा आजको कांग्रेसमा हुबहु लागू हुन्छ । देउवा पक्षीय धार कांग्रेस बिग्रियो, कांग्रेसले पछिल्लो समय लिएको नीति ठीक भएन, पार्टीको नेतृत्व तपाईंले गरेयताका दिन कांग्रेसका लागि प्रियकर भएनन् आदि ‘देउवासामु’ भन्ने आँट देखाउन सकेको छैन । उल्टै देउवासामु उभिएर ‘ठूलो र लोकतान्त्रिक’ दलको हैसियतले कांग्रेसले प्रधानमन्त्री पद छाड्नै नहुने ‘दलिल’ देउवासामु राख्दै आयो । उता प्रचण्डसामु पुग्दा तपाईंले हिजो ‘नेकपा’ फुटाएर हाम्रो पार्टी सभापतिलाई प्रधानमन्त्री बनाइ सक्नुभएकाले अब तपाईंले प्रधानमन्त्रीको दाबी छाड्नु सान्दर्भिक नहुने जस्ता ‘डबल स्टान्डर्ड’ देखाइरहे । मुगल सम्राटका हात्तीसारका कर्मचारीले झैं देउवालाई प्रधानमन्त्रीमा तपाईंको विकल्प नभएको जस्ता तर्क सुनाइ नै रहे । तर, सम्राटको प्रिय हात्ती मरे झैं प्रधानमन्त्री पद त उम्किनै सकेको थियो । देउवासामु सत्य बोल्ने आँट उनीभित्रकै जोकोहीमा भैदिएको भए, नेपालको राजनीतिले अहिलेको मोड लिने थिएन ।

समस्या देउवापक्षीय संस्थापनमा मात्र छैन । समस्या कोइराला पक्ष भनिएको थापा समूहमा पनि काफी देखिन्छ । थापा पक्षमा लामबद्ध भएर उभिँदा ३६ भन्दा बढी सांसद गगन थापातिर उभिने तर, मत भने २५ मात्रले पनि ‘घातक’ संकेत गर्दछ । प्रस्ट छ- महामन्त्री गगन समूहभित्र पनि देउवासँग देखिनेगरी आमनेसामने लड्न पनि नसक्ने र देउवाद्वारा सिर्जित तमाम बेथितिका विरुद्ध म लड्छु भन्ने ‘गगन’लाई साथ दिन पनि नसक्ने प्रवृत्तिले राम्रै डेरा जमाएको देखिन्छ । जनताबाट निर्वाचित भएर आएको एउटा जिम्मेवार सांसद संसदीय दलमा आफूले गरेको ‘मतदान’को फोटो बोकेर भुक्तानीका लागि होटल-होटल धाउँछन् भने त्योभन्दा नैतिक पतनको विषय अरु के होला ? यही सोच, संस्कार र शैली बोकेको कांग्रेसले चाणक्य नीतिलाई ‘हुबहु’ लागू गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक रुपमा कसरी लड्ला ? प्रश्न कांग्रेससामु गज्जबसँग उभिएको छ ।

समस्या देउवापक्षीय संस्थापनमा मात्र छैन । समस्या कोइराला पक्ष भनिएको थापा समूहमा पनि काफी देखिन्छ । थापा पक्षमा लामबद्ध भएर उभिँदा ३६ भन्दा बढी सांसद गगन थापातिर उभिने तर, मत भने २५ मात्रले पनि ‘घातक’ संकेत गर्दछ ।

देउवाले अवलम्बन गर्दै आएको नीतिले कांग्रेसलाई क्षति भएको पनि मान्ने तर, देउवाको ‘लाइन’ नै ठीक भएन भन्ने ‘गगन’लाई ‘लिडर’ मान्न पनि गाह्रो हुने रोगबाट कांग्रेसको दुबै समूह ग्रसित छ । वेला न कुवेला आगामी तीन वर्ष पछाडिको सभापति ‘को’ भन्ने विषय अगाडि सारेर कांग्रेसको संस्थापन इतर पक्ष ‘राजनीतिक तमासा’ देखाउँदैछ । कांग्रेससामु यतिवेलाको प्रश्न- गठबन्धन गरेर निर्वाचन सम्पन्नपश्चात ठूलो दल बन्न पुगेको कांग्रेसले सत्तालगायत महत्वपूर्ण ‘पोजिसन’ किन र कसरी गुमाउन पुग्यो भन्ने विषय महत्वपूर्ण हो कि भोलि सभापति को बन्ने भन्ने बेमौसमी सवाल ?

कांग्रेसको ओरालो यात्राको सवाल सत्तासँग मात्र जोडिँदैन । संगठनको हाल त्यस्तै छ । पार्टी कार्यालय ‘महामन्त्री मातहत’ भनिएको छ । तर, एउटा कार्यालय सहयोगी पनि ‘हायर र फायर’ गर्ने अधिकार सभापतिमै निहित छ । आफैंभित्रको ‘बेमेल’ र ‘संख्या’कै कारण महामन्त्रीद्वय ‘थापा-शर्मा’हरुले पार्टीका विभाग तथा भ्रातृ संस्थालाई पूर्णता दिने तथा निर्धारित मितिमै अधिवेशन गराउन ‘निर्णय’ गराउनसमेत ‘हम्मे-हम्मे’ देखिन्छ । विभाग गठन तथा भ्रातृ संगठनहरुको नियमित महाधिवेशनको विषयमा लड्दै आएका महामन्त्रीद्वय गगन-विश्वको मात्र विषय बन्न पुगेको छ- विभाग गठन तथा भ्रातृ संस्थाको अधिवेशन ।

योबीचमा स्थानीय संघ तथा प्रदेश गरी तीन तहका निर्वाचन सम्पन्न भए । तर, विभाग तथा भ्रातृ संस्थाको पूर्णताको आवश्यकता नै ठानिएन । ठूलो पार्टीको हैसियतले सरकार निर्माण गर्ने एजेण्डाउपर छलफलमा समेत संस्थापनइतर पक्षलाई उपेक्षा त गरियो नै, पार्टी संस्थापन पक्षले प्राप्त सम्पूर्ण उपलब्धि गुमाउन पुग्यो । हुँदाहुँदा योबीचमा कांग्रेसले भयानक ठूलो उपलब्धि गुमाउँदै गर्दा आफ्नो केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा गर्नु त कता हो, उल्टै बोलाइएको केन्द्रीय समिति बैठकसमेत धकेल्दै आएको छ । लोकतन्त्रको पर्याय तथा संघर्षको विरासत बोकेको लोकतान्त्रिक पद्धतिमा मान्यता राख्ने पार्टी नेपाली कांग्रेसका लागि योभन्दा दुर्भाग्यको स्थिति के होला ? कांग्रेससामु यतिवेला यी र यस्ता दर्जनौं प्रश्नहरु पहाड भएर उभिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *