धनकुटा यातायात कार्यालयका प्रमुखमाथि नेकपा बहुमतका कार्यकताले गरे दु्र्व्यवहार – Nepal Press

धनकुटा यातायात कार्यालयका प्रमुखमाथि नेकपा बहुमतका कार्यकताले गरे दु्र्व्यवहार

काठमाडौं । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा (बहुमत)का कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

उनीहरुले प्रमुख लुइँटेलमाथि सेवाग्राहीबाट चरम घूस लिएको आरोप लगाउँदै कार्यालयमै गएर कालोमोसो दलेका हुन् । उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवामा चरम घूस लिएको भन्ने सेवाग्राहीबाट गुनासो आएकाले कारबाही गरिएको जनाएको छ ।

‘यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी नीतिअनुसार प्रक्रिया पूरा गरेर कार्यालयबाट उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स प्रतिगोटा १२ हजारदेखि अठार हजारसम्म आमसेवाग्राहीलाई बाध्य बनाई घूस लिँदै आएको प्रमाणित भएको हुँदा निज घूसखोरी बाबुराम लुइँटेललाई चेतावनीसहित साङ्केतिक कारबाही गरिएको छ’, पार्टी जिल्ला संयोजक मोहनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उक्त पार्टीले विज्ञप्तीमार्फत नै धनकुटामा यस्ताखाले कुनै पनि भ्रष्टाचार, घूसजस्ता अन्य गतिविधि भएमा नेकपा (बहुमत) जिल्ला सङ्गठनअन्तर्गत न्यायिक समितिसमक्ष गुनासो तथा जाहेरी गर्न आम नागरिकलाई अपिल पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *