पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति, सुनकाेशी गाउँपालिकाले ५ लाख सहयोग गर्ने – Nepal Press

पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति, सुनकाेशी गाउँपालिकाले ५ लाख सहयोग गर्ने

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । फर्ममा १२० बाख्रा रहेका थिए । आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोशी २ का वडाध्यक्ष पुर्णबहादुर महतले जानकारी दिए ।

वुधबार बिहान करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने वडाध्यक्ष महतले जानकारी दिए । आगलागीबाट फर्मको सम्पुर्ण भौतीक संरचना समेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दानालगायत अन्य सामग्रीहरुसमेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिए । स्थानीयको सक्रियतामा आगोलागी नियन्त्रणमा लिइएको थियो ।

स्थानीय जालबहादुर केसीले २ करोड बढी लगानीमा कृषि तथा पशु फार्म सञ्चालनको सुरुवात गरेका थिए । विदेशबाट फर्किएका एक जना आफन्तसहित मिलेर सञ्चालन गरेको फर्मबाट केही समयपछि नै उत्पादन सुरुवातको चरणमा भएपनि आगालागीबाट सबै क्षति भएको केसीले बताए ।

गाउँपालिकाले सहयोग गर्ने

स्थानीय युवाहरुको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उदेश्यले करडौंको लगानीमा सञ्चालन भएको कृषि फर्ममा आगलागी भएपछि युवाहरुको उत्साहलाई कायम नै राख्नका लागि सुनकोशी गाउँपालिकाले सहयोग गर्ने भएको छ । आगलागीको स्थलगत निरक्षणमा पुगेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपलिकाले ५ लाख सहयोग उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

त्यस्तै, आगालागीबाट जलेको घर निर्माणका लागि विपद प्राधिकरणमार्फत सहजीकरण गरेर गाउँपालिकाको समेत सहयोगमा घर निर्माण गरिदिने प्रतिबद्धता पनि अध्यक्ष तिमल्सिनाले गरेका छन् । वडाध्यक्ष पुर्णबहादुर महतले पनि वडा,गाउँपालिका लगायत अन्य सरकारी, गैरसरकारी संघ सस्थासँग समन्वय गरेर कृषि फर्मलाई पुरानै अवस्थामा सञ्चालनका लागि आफुले पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *