थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसको समानुपातिक निर्वाचनमा सर्वाधिक खर्च (कुन दलको कति ?) – Nepal Press

थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसको समानुपातिक निर्वाचनमा सर्वाधिक खर्च (कुन दलको कति ?)

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा सहभागी दलहरुले खर्च निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन् । थ्रेसहोल्ड कटाएका ७ सहित ४७ दलहरुले खर्च विवरण बुझाएका हुन् ।

समानुपातिकतर्फ नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका थिए ।

तर, निर्वाचनमा थ्रेसहोल्ड कटाउन असफल बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च गरेको उल्लेख गरेको छ ।

समानुपातिकमा एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा नेकपा एसले तीन प्रतिशत अर्थात् ३ लाख १६ हजार ८०३ न्यूनतम मत प्राप्त गर्न सकेको थिएन । उसले २ लाख ९८ हजार ३९१ मत ल्याएपनि थ्रेसहोल्ड कटाउन १८ हजार ४१२ मत अपुग भएको थियो ।

तर, दलहरुले बुझाएको खर्च विवरणमा नेकपा एसले एक करोड ९० लाख ८९ हजार पाँच सय खर्च गरेको उल्लेख छ । निर्वाचनमा सहभागी भएका ४७ दलमध्ये सबैभन्दा धेरै हो ।

समानुपातिकमा ५ लाख ८८ हजार ८४९ मत ल्याएरको राप्रपाले १ लाख ८९ हजार खर्च गरेको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८, नेकपा एमालेले १ करोड ३३ लाख २६ हजार ६९३, माओवादीले १ करोड ४ लाख ३४६ खर्च गरेको छ ।

यस्तै, प्रतिनिधि सभामा चौथो शक्तिको रुपमा स्थापित भएको रवि लामिछाने नेतृत्वको रास्वपाले ३६ लाख ८६ हजार २२५ खर्च गरेको छ। यो पार्टीले समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत ल्याएर १३ सांसद ल्याएको थियो ।

यस्तै, जसपाले ३५ लाख, जनमतले ३ लाख ८८ हजार, नागरिक उन्मुक्तिले १० लाख १३ हजार, लोसपाले ९ लाख ५० हजार, नेमकिपाले २८ लाख ७६ हजार २५०, राष्ट्रिय जनमोर्चाले ३ लाख ९१ हजार ६५ खर्च गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *