फिक्सिङमा मुछिएकोमा जतिनको आपत्ति, भारतबाट भने- प्रहरीले हामीसँग सम्पर्क गरेन – Nepal Press

फिक्सिङमा मुछिएकोमा जतिनको आपत्ति, भारतबाट भने- प्रहरीले हामीसँग सम्पर्क गरेन

काठमाडौं । स्पट फिक्सिङको प्रमुख योजनाकारका रुपमा प्रचारित गरिएकोमा सेभन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहुवालियाले आपत्ति जनाएका छन् । आफूहरुलाई फिक्सिङमा मुछ्नेहरुविरुद्ध कानूनी उपचारमा जाने चेतावनी पनि उनले दिए ।

हिजोमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले पत्रकार सम्मेलन गरी काठमाडौंमा आयोजना भएको नेपाल टी-२० प्रतियोगितामा फिक्सिङ भएको जनाएको थियो । उक्त फिक्सिङमा खेलाडीहरूमात्र नभएर व्यवस्थापनका ४ जनासमेत संलग्न रहेको सीआईबीको दाबी छ । तर, उनीहरु को हुन् भन्ने खुलाइएको छैन । तर, केही मिडियाले सीआईबी स्रोतलाई उद्धृत गर्दै सेभेन थ्री स्पोट्र्र्सका प्रमुख अहुवालिया नै मुख्य योजनाकार भएको समाचार प्रकाशित गरेका छन् ।

भारतमा रहेका आहुवालिया नेपाल प्रेसको सम्पर्कमा आउँदै समाचारको खण्डन गरे । उनले फिक्सिङसँग आफ्नो टाढाको साइनो पनि नभएको बताए ।

‘फिक्सिङ गर्ने भनेको खेलाडीले हो, व्यवस्थापनले होइन’, उनले भने ।

नेपाल टी-२० लिग सुरु हुनुअघि नै जतिन भारत गएका थिए । उनी प्रतियोगिताको फाइनलमा पनि आएनन् । कतिपय मिडियाले उनी भागेको भनेरसमेत लेखेका छन् । यसमा पनि जतिनले आपत्ति जनाए ।

‘परिवारका सदस्यहरु अस्वस्थ भएपछि म भारत आएको हुँ । भाग्नुपर्ने कुनै कारण थिएन । दिनको उज्यालोमा सबैलाई जानकारी दिएरै आएको हुँ । मेरो देश नै भारत भएकाले नेपालबाट यहाँ आउँदा भागेको भन्न मिल्दैन’, उनले भने ।

फिक्सिङ काण्डबारे उनको पूरा प्रष्टीकरण यस्तो छः

नेपाल टी-२० लिगको आयोजक र मुख्य जिम्मेवार भनेको नेपाल क्रिकेट संघ (क्यान) हो । हामी रणनीतिक साझेदारका रुपमा यो प्रतियोगितामा जोडिएका हौं । प्रतियोगिताअघि मेरो सासूआमा बिरामी हुनुभएकाले म भारत फर्किएँ । तर, नेपाली मिडियाले हामी भाग्यौं भनेर समाचार लेखे ।

हामी निरन्तर क्यानसँग सम्पर्कमा छौं । हिजो राति पनि चतुरबहादुर चन्द र प्रशान्त मल्लसित कुरा भएको थियो । उहाँहरुले टुर्नामेन्टको फाइनलमा आउन आग्रह गर्नुभएको थियो । हामी पनि इच्छुक थियौं । तर, आउन सकेनौं । हामी अहिले आफ्नो देशमा छौं । भागेको भनेर आधारहीन कुरा गरियो ।

जहाँसम्म म्याच फिक्सिङको कुरा छ, यसमा हाम्रो कुनै पनि खालको सम्बन्ध छैन । म्याच फिक्सिङ भनेको खेलाडीले गर्ने हो । हामी फ्रेन्चाइजीलाई छनोट गरेर क्यानमा गयौं र सबै कुराहरु क्यानले स्वीकृत गर्‍यो । क्यानपछि आईसीसीले एप्रुभ गर्छ । कुनै पनि विषय आयो भने खेलाडीले फ्रेन्चाइजीलाई रिपोर्ट गर्छन् ।

खेलाडीहरु छान्ने भनेको फ्रेन्चाइजीले हो । हामीलाई थाहा हुँदैन कि कुन फ्रेन्चाइजीले कुन खेलाडीलाई हायर गर्छन् । यसमा हाम्रो कुनै हात हुँदैन । हामीले प्रतियोगिताको आयोजना गर्नेमात्रै हो ।

नेपालको प्रहरीले सार्वजनिक गरेको रिपोर्ट हामीले हेर्न पाएको छैन । सीबीआईले यदि व्यवस्थापनका व्यक्ति संलग्न छ भनेको हो भने टीम व्यवस्थापन भनेको हुनुपर्छ । हामी आयोजक पनि होइनौं, रणनीतिक साझेदारमात्र हौं । हामीले व्यवसायिक प्रतिबद्धताहरुमात्रै पालना गर्नुपर्छ । स्पोन्सर, बोर्डकास्टर, टीम मालिकलगायतका कुराहरुमात्रै हाम्रो जिम्मामा हुन्छन् । अरु सबै कुरा क्यानकै हातमा हुन्छ ।

हामीलाई त निश्चित क्षेत्रमा पहुँच नै हुँदैन । फिक्सिङ खेलाडीले गर्ने भएकाले उनीहरुसँग कुराकानी त हुनैपर्छ । सेभन थ्री स्पोर्ट्सका मसित कसैका पनि खेलाडीहरु रहने क्षेत्रमा पहुँच थिएन । हाम्रो उनीहरुसँग भेट पनि भएन । फोनमा पनि कुरा भएको छैन । त्यस्तो भएमा कल रेकर्ड पक्कै होला ।

होटलमा पनि हाम्रो खेलाडीले खाना खाने ठाउँमा पहुँच थिएन । हामी पब्लिक रेस्टुरेन्टमा खाना खान्थ्यौं । एउटै होटलमा भए पनि उनीहरुसँग हाम्रो त्यहाँ पनि भेट भएन । सीसीटीभी चेक गर्दा पनि हुन्छ । हामीले जहाँ समय बितायौं, ती सबै ठाउँ उच्च गुणस्तरका सीसीटीभी थिए ।
क्यानको पूर्ण नियन्त्रणमा सबै कुरा भएको थियो । अम्पायरदेखि क्यूरेटरसम्म क्यानले नियुक्त गरेका हुन् । सबै कुरा पारदर्शी थियो । खेलमा प्रभाव पार्ने हाम्रो कुनै भूमिका नै थिएन । यदि हामीले गरेका हौं भने कसरी गर्‍यौं त ! न हामीले फोनमा कुरा गर्‍यौं न त भेट्यौं । हामीले कुनै पनि खेलाडीसँग कहिल्यै निजी भेटघाट गरेनौं । हामी म्याच फिक्सिङ वा स्पट फिक्सिङमा संलग्न हुन सम्भव नै छैन ।

नेपाल पुलिसले जुन अनुसन्धान गर्‍यो, यसमा हामीसँग कहिले पनि सम्पर्क गरेको छैन । हामी सबैको पहुँचमा छौं । हाम्रो फोन नम्बर छ । इमेल छ । ह्वाट्सएप छ । जसरी पनि सम्पर्क गर्न सकिन्थ्यो । तर, प्रहरीले हामीलाई कुनै पनि माध्यमबाट सम्पर्क गरेको छैन । हाम्रो फोन २४ सै घन्टा खुला हुन्छ । अझै पनि चाह्यो भने प्रहरीले सम्पर्क गर्न सक्छ । हामीले हाम्रो दूतावासलाई पनि सबै सूचना दिइरहेका छौं ।

हामी जनवरी २ मा भारत आएका हौं । त्यसअघि त धेरै समय नेपालमा नै थियौं । सबै कुराको जवाफ दिइरहेकै थियौं । यद्यपि निरन्तर हाम्रोविरुद्धमा लेखिएको छ । यसमा हामी गम्भीर छौं । हामीलाई यस्तो आरोप लगाउनेहरुलाई हामी कानूनी कठघरामा लैजान्छौं । चुप लागेर बस्दैनौं ।

हामी अझै पनि क्यानसँगको सम्झौतामा प्रतिबद्ध छौं । तर, सम्झौताअनुसार रकम क्यानलाई भुक्तानी गर्न प्राविधिक अड्चन छ । पहिलो कुरा त क्यानले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिन सकेको छैन । साथै, खेलाडीहरुलाई वर्क पर्मिट दिन पनि असफल भयो । हामीले आफ्नो सम्बन्धका आधारमा खेलाडीहरुलाई ल्यायौं । क्यानले आफ्नो जिम्मेवारी पूरा नगरेपछि हामीले पैसा नदिएका हौं ।

यद्यपि, हामी नेपाल टी-२० लाई अगाडि लैजान चाहन्छौं । अहिले हाम्रो धेरै लगानी भइसकेको छ । हामीले भविष्यलाई हेरेर लगानी गरेका हौं । त्यसैले यसबाट पछि हट्ने मनसाय छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर