तीन सरकारी बैंकको मर्ज ! – Nepal Press

तीन सरकारी बैंकको मर्ज !

काठमाडौ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा तीन सरकारी बैंकको मर्जरका विषयमा बोलेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव समारोहमा उनले निजि बैंकमा मर्जरको लहर चल्दा सरकारी बैंकमा आवश्यकता महसुस गर्न ढिला त भएको छैन ? प्रश्न गरे ।

उनको सो अभिव्यक्तिले सरकारी बैंक पनि मर्जरमा जानुपर्नेमा राष्ट्र बैंकको जोड हुनसक्ने सहभागीले अनुमान लाए ।

नेपाल राष्ट्र बैंकले फोर्सफुल्ली मर्जरको नीति नलिएपनि विभिन्न सहुलीयत दिएर ठूला बैंकहरू मर्जका लागि प्रोत्साहन गरेको छ । कुनै बेला ३२ वटासम्म रहेका वाणिज्य बैंकहरू अहिले २२ वटामा झरिसकेका छन् । हिमालयन र सिभिल अबको केदी दिनमा एक हुनासाथ यो संख्या २० हुनेछ ।

निजी क्षेत्रका बैंक बलिया बन्दै जाँदा सरकारी बैंकलाई पनि दबाब भने सिर्जना भएको छ । अहिले चुक्तापूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक हो । सरकारी स्वामित्वको कृषि विकास बैंकको १८ अर्ब बढी चुक्तापूँजी छ । राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड र नेपाल बैंकको १४ अर्ब छ ।

सरकारले आफ्ना आयोजनाको काम सरकारी बैंकबाटै गर्नका लागि पनि ती बैंकहरू बलियो बनाउनुपर्ने पूर्वगभर्नर डा. चिरञ्जिवी नेपाल बताउँछन् । पहिला सरकारी बैंक बलिया भएपनि अहिले नीजि बैंकहरु बलियो देखिएको नेपालले बताए ।

उनले भने, ‘सरकारले आफ्नो दायित्व व्यवस्थापन घटाउने र पूँजीको लागतलाई घटाउने हो भने मर्जरमा गएर मात्र सरकारी बैंक बलिया बन्छन् । तर, यसमा सरकारले नै निर्णय गर्नुपर्ने भएकाले अहिले एउटा दलको मात्र सरकार छैन । त्यसकारण पनि कति सहज होला भन्ने प्रश्न पनि छ ।’

‘अहिले एउटा सरकारी बैंकमा सातजना सञ्चालक छन् । यसै आधारमा तीन सरकारी बैंकमा २१ जना सञ्चालक छन् र तीनजना सीईओ छन् । यसले सरकारको दायित्व बढाएको छ’, नेपालले भने ।

मर्ज भए भने तीन जना सिइओ र २१ जना सञ्चालक हुदैनन । प्रधानमन्त्री र अर्थमन्त्रीले खर्च घटाउने हो भने तीन सरकारी बैंकलाई एकै बैंक बनाएर बलियो बनाइ काम गर्न सक्ने नेपालको भनाइ छ ।

तीन बैंक मर्ज हुँदा यस्तो बन्ने छ सरकारी बैंक

तीन बैंक मर्ज भएर एक बन्दा झण्डै ४९ अर्ब रूपैयाँ बराबरको चुक्ता पूँजी हुनेछ । अहिले कृषि विकास बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रूपैयाँ रहेको छ । नेपाल बैंकको १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रूपैयाँ चुक्ता पूँजी छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको रहेको छ । यस आधारमा पनि मर्जरमा जाँदा बैंकको चुक्तापुँजी ४८ अर्ब ९५ करोड २० लाख २६ हजार रुपैयाँ पुग्नेछ ।

राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वको हो भने नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ । यस्तै कृषि विकास बैंकमा पनि सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । मर्ज भएर बन्ने सरकारकै बैंक देशकै ठूलो बैंक हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर