लुम्बिनीमा भारतीय धर्मगुरु मोरारी बापुको ‘रामकथा’ प्रवचन हुने – Nepal Press

लुम्बिनीमा भारतीय धर्मगुरु मोरारी बापुको ‘रामकथा’ प्रवचन हुने

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा माघ २१ गते देखि २९ गतेसम्म भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ ।

९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

वुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा अग्रवालले यो प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा व्यक्त गरे । आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो ।

‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् । अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथावाचन भइसकेको छ । लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए ।

धर्म गुरु मोरारी यही माघ २० गते चार्टर्ड विमान मार्फत सिधै गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको आयोजकका प्रतिनिधि कृष्णकुमार जालानले जानकारी दिए । त्यसलगत्तै भगवान बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरीएको आफ्नो आवासमा पुग्ने कार्यक्रम रहेको छ । यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो ।

कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि बिकास केडियाले जानकारी दिए ।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा सहभागी हुने भक्तालुजनका लागि लुम्बिनीका अधिकांश होटलहरु बुकिङ भैसकेको आयोजकले जनाएको छ । यसैगरी, यस क्षेत्रको सुरक्षा व्यवस्थालाई समेत कडाई गरी सुरक्षा निकायसँग आवश्यक समन्वयको काम भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर