ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी – Nepal Press

ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्होस्थित हिनाङ्गमा रहेको करिब दुई सय वर्ष पुरानो पुङ्गजी गुम्बा आगलागी भएको छ । आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चायले जानकारी दिए ।

आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टरमार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अवलोकन गरेको उनले बताए।

मङ्गलबार अपराह्न करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रजिअ आचार्यको भनाइ छ । आगलागीबाट मन्दिरभित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको वर्ष मात्रै पुनः निर्माण गरिएको थियो ।

अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले सोलारका लागि प्रयोग भएको तारमा सर्ट भएपछि गुम्बामा आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताए। ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानीयको सहयोगमा गए राति अबेर नियन्त्रणमा आएको उनको भनाइ छ ।

गुम्बामा भएको आगलागीका कारण ३० करोडभन्दा बढीको क्षति भएको हुनसक्ने गोरखा क्षेत्र नं १ ९१० का प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानले जानकारी दिए ।

उनले सदरमुकाम फर्किएलगत्तै आगलागीका बारेमा सङ्घीय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनःनिर्माणका लागि पहल गर्ने बताए । समुन्द्र सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको सबै सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *