प्रेमप्रसादको मृत्युमा एकअर्कालाई हिलाे छ्यापेर हामीलाई उम्कने छुट छैन : उपमेयर डंगोल – Nepal Press

प्रेमप्रसादको मृत्युमा एकअर्कालाई हिलाे छ्यापेर हामीलाई उम्कने छुट छैन : उपमेयर डंगोल

‘एकजना प्रेमप्रसादको मृत्युबाट पाठ सिक्दै हजारौँ प्रेमप्रसादहरुलाई बचाउनु छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटनाबाट गम्भीर हुनुपर्ने परिस्थित सिर्जना गरेको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकी हुन् । मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि प्रधानमन्त्रीको सवारी भइरहेकै बेला आफैंलाई आगो लगाएका इलामको सूर्योदय नगरपालिका–११, फिक्कलका आचार्यको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको थियो ।

उनको निधनप्रति शोक व्यक्त गर्दै उपमेयर डंगोलले संसद भवन अगाडि नै भएको यस्तो घटनाले दुःखी बनाएको बताएकी छन् । ‘सबै भन्दा पहिला उहाँको निधनमा हार्दिक श्रद्धाभाव व्यक्त गर्दै दुःखले व्याकुल उहाँका परिवार र आफन्तप्रति समवेदना प्रकट गर्दछु’, डंगोलले लेखेकी छन्, ‘काठमाडौं महानगरपालिकाको उपमेयरको जिम्मेवारीमा रहेको हैसियतले पनि मैले यो घटनालाई निकै गम्भीर र पीडादायी घटनाका रुपमा लिएको छु ।’

सुनिता थप्छिन्, ‘काठमाडौं महानगरपालिका मात्रै यस्तो पालिका हो । यहाँ ७७ जिल्लाबाटै आफ्नो सुन्दर भविष्यका इन्द्रेणी सपनाहरु बोकेर आइरहेका हुन्छन् । सूर्योदयको जिल्ला इलामबाट काठमाडौंसम्म इन्द्रेणी सपना बोकर आएका एक युवाले सबै आशाहरुलाई निराशामा बदलेर आत्मदह गर्ने खबर त्यसै पनि पीडादायी र व्याकुल बनाउने खबर हो ।’

यस्तो दुःखद घटनालाई राजनीतिक आग्रह-पूर्वाग्रहको रङ पोतेर, एकअर्कालाई दोषारोपण गरेर उम्किने छुट आफूहरु कसैलाई नभएको पनि उपमेयर डंगोलले उल्लेख गरेकी छन् । ‘अहिले मुलुकमा अनुभवले खारिएका दल र नेतासँगै मुलकको समृद्धिका लागि अदम्य आँट बोकेर आएका युवा र नयाँ राजनीतिक दल नीति, निर्माण र नेतृत्व तहमा पुगेको अवस्था छ,’ उनी लेख्छिन्, ‘नयाँ पुस्तामा आशाको दियो बाल्दै गरेका बेला प्रेमप्रसादहरुको आत्मदाहले राजनीतिक दलहरु मात्रै होइन, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि र मुलुकको समृद्धिको सपना बोकिरहेका हामी हरेक नेपालीले थप गहन र जिम्मेवार भएर सोच्नुपर्ने बेला भएको छ ।’

उनले आत्मदाह कसैले पनि लहडमा गरेको हुँदैन भन्दै प्रेमप्रसादको आत्मदहलाई एक नागरिकले गरेको कठोर निर्णयका रुपमा मात्रै बुझ्नु नहुने उल्लेख गरेकी छन् । ‘उहाँको मृत्यु केबल मृत्यु मात्रै पनि होइन । ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको महाअभियानमा जुटिरहेका हाम्रा लागि पनि उहाँको मृत्यु एउटा पाठ बनेको छ’, उनी भन्छिन्, ‘यो दुःखद् घटनाबाट पाठ सिक्दै विगतमा भएका कमजोरीलाई पनि सुधार गर्दै हामी जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र सरोकारवाला निकायले थप सच्चिनुको विकल्प छैन । यो घटनाबाट अब पनि नसच्चिए कहिले सच्चिने ? यो घटनाबाट अब पनि पाठ नसिके कहिले सिक्ने ?’

एकजना प्रेमप्रसादको मृत्युबाट पाठ सिक्दै हजारौँ प्रेमप्रसादहरुलाई यस्तै गुम्सिएका पीडाहरुबाट मुक्त बनाउने महाअभियानमा सबैलाई लाग्न आवश्यक रहेको उपमेयर डंगोलको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *