अत्यासलाग्दो आर्थिक संकट : सुदूरपश्चिमका एक युवाले पनि रोजेका थिए आत्मदाहको बाटो – Nepal Press

अत्यासलाग्दो आर्थिक संकट : सुदूरपश्चिमका एक युवाले पनि रोजेका थिए आत्मदाहको बाटो

कैलाली । ऋण को सिलसिला अत्यासलाग्दो अवस्थामा पुगेर आर्थिक सङ्कटले जागिएपछि मंगलवार संघीय संसद् भवन अगाडि पञ्चकन्या–६ इलाम घर भएका करिब ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खनाएर आगो लगाए ।

आफूलाई प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्दै नेता र नेतृत्वले युवाहरूको समस्या समाधान गर्न दबाब दिए आचार्यले आत्मदाहको स्थान संघीय संसद् भवन अगाडि रोजेका हुन सक्छन् ।

सुरक्षाकर्मीले प्रेमप्रसादलाई जोगाउन प्रयास गरेका थिए । तर, त्यति बेलासम्म उनी धेरै जलिसकेका थिए । उनको शरीर ८० प्रतिशत जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भयो ।

अत्यासलाग्दोले आर्थिक संकट आचार्यको ज्यान लिएको जस्तै घटना सुदूरपश्चिममा पनि घटेको थियो ।

अस्पतालले कामबाट निकालिदिएपछि आर्थिक अभावले परिवार पाल्न नसक्ने भएर आत्मदाहको बाटो रोजेका सिद्धार्थ आउजीबारे सरकारले कहिल्यै ध्यान दिएन ।

अछामको बयलपाटा अस्पतालले २०७७ जेठ १२ गते कामबाट निकालिएको पत्र थमाएपछि अछामको साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजी सङ्कटमा परेका थिए।

मुम्बईबाट फर्किएका उनी त्यहाँ एक वर्षदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । अस्पतालबाट मासिक रूपमा आउने १९ हजार पाँच सय रुपैयाँले श्रीमती र ७ महिनाकी छोरीसहित परिवार पाल्दै आएका थिए । तर, अस्पतालले १२ जेठमा उनीसहित ११ जनालाई अवकाश पत्र थमायो ।

तीन दिनपछि थप २२ जना जागिरबाट निकालिए । जागिर गुमेपछि उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले सतायो । त्यही तनावमा उनले आत्मदाह गरे । जागिरबाट निकालिएको २ साता पछि अस्पताल परिसरमै आफूलाई पेट्रोल छर्किएर आफूलाई आगो लगाएका थिए ।

आगोले जलेर गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेज लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

आर्थिक अवस्थाका कारण आफैलाई जलाएको उक्त घटनामा सरकार गम्भीर भएर केही निकास निकाल्न सकेको भए मंगलबार अर्का युवाले आफैलाई जलाउन बाध्य हुने परिस्थिति सृजना नहुन सक्थ्यो ।

त्यस बिचमा अन्य आत्मदाहको बाटो नरोजेका भने होइनन् । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैँलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् । उनको पनि उपचारको क्रममा मृत्यु भयो । केही दिन पहिले काठमाडौँको सुनधारास्थित सिभिल काठमाडौँ महानगरपालिका १६ बस्ने निशान गुरुङले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरे ।

टीकाटालो गरेको तीन महिनापछि विवाह अस्वीकार गरेपछि पुष्पाले आफैलाई जलाएकी थिइन् भने गुरुङले आत्महत्याको प्रयास गर्नुको कारण बारे प्रहरीले केही बताएको छैन । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ ।

आत्महत्याको घटना बढ्न थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ ।

आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत प्रहरीले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर