देउवा सरकारले ल्याएको अध्यादेशको आधारमा अविलम्ब विधेयक ल्याइयोस् : निवर्तमान गृहमन्त्री खाण – Nepal Press

देउवा सरकारले ल्याएको अध्यादेशको आधारमा अविलम्ब विधेयक ल्याइयोस् : निवर्तमान गृहमन्त्री खाण

रुपन्देही । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र तराई मधेसका अन्य राजनीतिक शक्तिहरुसँग तत्कालीन सरकारले गरेको सम्झौताअनुसार मुद्दा फिर्ता लिन र उनीहरुलाई रिहा गर्न कानूनमा भएका बाधा हटाउन वर्तमान सरकारले प्रतिनिधिसभामा विधेयक ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार रुपन्देहीमा आयोजित कार्यक्रममा खाणले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको आधारमा वर्तमान सरकारले अविलम्ब विधेयक सदनमा ल्याउनुपर्ने बताएका हुन् ।

देउवा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ११६ दफामा उपदफा थपेर जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने व्यवस्थासहित अध्यादेश ल्याएको थियो ।

‘थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र तराई मधेसका अन्य राजनीतिक शक्तिहरुसँग तत्कालीन सरकारले गरेको सम्झौताअनुसार मुद्दा फिर्ता लिन र उनीहरुलाई रिहा गर्न कानूनमा भएका बाधा हटाउन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको आधारमा वर्तमान सरकारले अविलम्ब विधेयक सदनमा ल्याओस्’, उनले भने, ‘विधेयक पास गरेर तत्कालीन सरकारले ती समूहसँग गरेको सहमति कार्यान्वयन गराओस् र मुद्दा फिर्ता लिई राजनीतिक बन्दीहरुलाई छुटाओस् ।’

राजनीतिक शक्तिहरुले विभिन्न समय खण्डमा गरेका आन्दोलन र विद्रोहहरुलाई सरकारले ओनरसिप लिएर सम्झौता गरिसकेपछि ती सम्झौता कार्यान्वयन हुँदा त्यसले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन बल पुग्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर