हिजो हत्या, आज सलाम ! युद्धविरामको दुई दिनअघि मारिएका थिए कृष्णमोहन दम्पती – Nepal Press

हिजो हत्या, आज सलाम ! युद्धविरामको दुई दिनअघि मारिएका थिए कृष्णमोहन दम्पती

के भन्छ प्रचण्डकाे सचिवालय ?

काठमाडौं । सोमबार दिउँसो सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि थिए । कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री प्रचण्डले स्व.सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिक छेउमा गएर सलाम ठोके । यो तस्बिर मिडियामा सार्वजनिक भएसँगै सोसल मिडियामा तीव्र चर्चा/परिचर्चा भइरहेको छ । हिजो माओवादीबाटै हत्या गरिएका कृष्णमोहनलाई आज सोही पार्टीका सुप्रिमोले सलाम ठोक्नु एउटा चर्चायोग्य सन्दर्भ हो पनि ।

श्रेष्ठ माओवादी जनयुद्धमा मारिने सबैभन्दा माथिल्लो श्रेणीका सुरक्षा अधिकृत थिए । उनी माओवादीबाट मारिँदा सो पार्टीका सर्वोच्च कमाण्डर निःसन्देह प्रचण्ड नै थिए । आज दौरासुरुवाल लगाएका प्रचण्डले श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै स्यालुटसमेत हान्नु ऐतिहासिक ट्वीस्ट हो । माओवादी समर्थकले यो दृश्य पटक्कै मन पराएका छैनन् । तर, तटस्थ नागरिकहरुले चाहिँ प्रचण्डको यो रुपान्तरणलाई सुखद रुपमै लिएका छन् । यो दृश्यले विगतको द्वन्द्वको घाउ दुवै पक्षले बिर्सन थालेको सकारात्मक सन्देश दिएको छ ।

ललितपुरको बागडोलमा २०५९ माघ १२ गते ‘मर्निङ वाक’ मा गइरहेका श्रेष्ठसहित तत्कालीन सशस्त्र प्रहरी महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी उनकी श्रीमती नुडुप श्रेष्ठ र श्रेष्ठका अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी सेनाले गोली हानेर हत्या गरेका थिए । घटनाको दुई दिनपछि तत्कालीन सरकार र विद्रोही माओवादीबीच दोस्रोपटक युद्धविरामका लागि सहमति भएको थियो ।

२००३ साल फागुन ३ गते संखुवासभाको चैनपुरमा जन्मिएका श्रेष्ठ २०२७ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०५७ माघ १९ गते प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षपछि उनी सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) बनेका हुन् ।

माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा तत्कालीन सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो । त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्ने नै थियो ।

प्रचण्डको सचिवालयद्वारा बचाउ

आफ्नै पार्टीको सेनाले मारेको व्यक्तिलाई अहिले सलाम गर्ने कुरा सामान्य भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख स्वकीय सचिव रमेश मल्लले हिजो के थियो भन्नु भन्दा पनि अहिले के छ भन्ने विषय प्रमुख रहेको बताए ।

उनी भन्छन्, ‘सशस्त्र प्रहरी बलले आफ्नो पुरानो कमाण्डरलाई सम्मान गर्नु स्वाभाविक हो । प्रधानमन्त्रीज्यूले पनि सलामी दिने कार्यक्रम थियो । सरकार प्रमुखको हैसियतले उहाँले पनि सलामी दिनुभयो । हिजो के थियो भन्नु भन्दा पनि अहिले के छ भन्ने कुरा प्रमुख हो । यसलाई त्यसरी नै लिनुपर्छ होला ।’

‘माओवादीबाट मारिएकालाई पनि सम्मान गर्नुपर्यो । माओवादीबाट मारिएका सहिदलाई पनि सम्मान गर्नुपर्यो । सरकार प्रमुख भइसकेपछि जुनसुकै पक्षबाट मारिएको भए पनि त्यो सहिद नै हो र ती सहिदलाई सम्मान गर्नुपर्छ । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक एक पात्रमात्रै हो । उहाँ पनि १० वर्षे द्वन्द्वमा नै मारिएको र सहिद नै भएकाले उनलाई प्रधानमन्त्रीले सम्मान गर्नु र सलाम गर्नु के अस्वाभाविक भयो ? यसलाई अस्वाभाविक रुपमा लिन जरुरी छैन ।’

तर, द्वन्द्वका कतिपय अस्वाभाविक रुपमा भएका घटना र त्यसबाट पीडित पक्षको क्षेत्रमा काम गर्नेका लागि विभिन्न आयोग गठन भएकाले उनीहरुले त्यस क्षेत्रमा काम गरिरहेको प्रमुख स्वकीय सचिव मल्लले बताए । माओवादीले भने जस्तो नयाँ जनवादी गणतन्त्रमा भने देश पुगिनसकेको उल्लेख गर्दै मल्लले भने, ‘माओवादीले भने जस्तो नयाँ जनवादी गणतन्त्रमा हामी पुगिसकेको अवस्था होइन । राजतन्त्र फलिएकोमात्रै हो ।’

मुमाराम भन्छन्- नौलो कुरा होइन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसैको सालिकमा गएर ढोग्नु वा सलाम गर्नु कुनै नौलो कुरा नभएको राजनीतिक विश्लेषक मुमाराम खनालको प्रतिक्रिया छ । जनयुद्धकालमा माओवादीमै रहेका खनालले नेपाल प्रेससँग भने, ‘प्रचण्डले कसैको सालिकमा गएर ढोग्नु वा सलाम गर्नु नौलो होइन । माओवादी सत्ता कब्जा गरेर भन्दा पनि नेपाली सेनासँग लड्न नसक्ने भएपछि आत्मसमर्पण गरेर आएकाले उनीहरुको नियन्त्रणमा अहिले केही पनि छैन । दौरा सुरुवाल त राष्ट्रपति भण्डारीले लगाउन भनेपछि प्रचण्डले लगाउनुभयो भनेपछि आफैं सोच्नुस् ।’

माओवादी १० वर्षे जनयुद्ध समाप्त गरेर संसदीय व्यवस्थामा विलीन भएकाले उसलाई नेपाली मिडियाले अझै पनि सत्ता कब्जा गरेको जस्तो देखिरहनु गलत भएको उनको टिप्पणी छ ।

खनालले भने, ‘नेपालका मिडियाले माओवादीलाई अझै पनि सत्ता कब्जा गरेर आएको जस्तो देख्छन् । तर, १० वर्षे जनयुद्धमा सफल हुन नसक्ने निष्कर्षसहित माओवादी १२ बुँदे सहमतिमार्फत संसदीय व्यवस्थामा समाहित भएको हो । संसदीय व्यवस्थामा आएपछि माओवादी भन्ने नाममात्रै छ । संसदीय व्यवस्थामा आइसकेपछि वर्ग नै बदलिएको छ । माओवादीको माथिल्लो नेतृत्व बुर्जुवा वर्गमा रुपान्तरण भइसकेको छ ।’

को हुन् कृष्णमोहन श्रेष्ठ ?

कृष्णमोहन श्रेष्ठ नेपालको सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक हुन् । उनको जन्म विसं २००३ साल फागुन ३ गते सङ्खुवासभा जिल्लाको चैनपुर बजारमा भएको थियो ।

२०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए । उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे । उनको हत्या भएको स्थानमा हाल कृष्णमोहन नुडुप स्मृति उद्यानको निर्माण भएको छ । कृष्णमोहनका तीन छोरी नमिता, कृपा र कीर्ति श्रेष्ठ छन् ।

श्रेष्ठ २०२७ सालमा खुला प्रतिस्पर्धाबाट छनाेट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्म भएका थिए ।

त्यसैबेला तत्कालीन सरकारले नेपाल प्रहरी तथा शाही नेपाली सेनाबाट अधिकारी लिएर एउटा अर्धसैन्य बलको गठन गर्यो । यसरी गठन गरिएको सशस्त्र प्रहरी बलको पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए ।

उनलाई तत्कालीन राजा ज्ञानेन्द्रबाट २०६० जेठ ३० गते मरणोपरान्त सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु पहिलो प्रदान गरिएको थियो । त्यस्तै गरी श्रीमती नुडुप श्रेष्ठलाई मरणोपरान्त सुप्रबल गोरखा दक्षिणबाहु दोस्रो प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर