नेपाली बजारमा भारतीय रुपैयाँ ‘अवमूल्यन’, अध्ययन गरिरहेका छौं- राष्ट्र बैंक – Nepal Press

नेपाली बजारमा भारतीय रुपैयाँ ‘अवमूल्यन’, अध्ययन गरिरहेका छौं- राष्ट्र बैंक

रुपन्देही । एक महिनायता नेपाली बजारमा भारतीय मुद्राको मूल्य घटिरहेको छ । लामो समयदेखि १ दशमलब ६ को अनुपातमा रहेको बजार मूल्य यसअघि बढिबढाउमा कारोबार हुने गर्थ्यो । तर, अहिले घटेको छ ।

पहिले सीमावर्ती बजारमा मात्रै होइन नेपालका भित्री बजारमा समेत निर्धारित मूल्यभन्दा ५ देखि १० रुपैयाँ बढीमा कारोबार भएको थियो । तर, अहिले घटेर निर्धारित मूल्यभन्दा ५ रुपैयाँ कममा कारोबार गर्न व्यवसायी बाध्य भएका छन् ।

‘कानूनी हिसाबले पहिले र अहिलेको दररेटमा कुनै फेरबदल आएको छैन । व्यवसायीहरुलाई अप्ठेरो परेको वेला पहिले बट्टामा १६५ देखि १७० सम्म पनि कारोबार भएकै हो’, बुटवलका व्यवसायी विष्णुप्रसाद पन्त भन्छन्, ‘तर, अहिले १५५ सम्म पनि खरिद भएको गुनासो सुनेका छौं । भारतीय मूल्यमा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या परेको छ ।’

उनी भारतीय बजार राजस्थान तथा दिल्ली पञ्जाबका समानहरु होलसेल मूल्यमा खरिद गरेर बिक्री गर्ने कारोबार गर्छन् ।

हाल सीमावर्ती क्षेत्रमा १ सय भारुको सरदर नेपाली मूल्य १५५ मा चलेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनेर बुझ्ने गरिन्छ ।

‘पुसभन्दा अघि व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १६५ देखि १७० सम्म नेपाली रुपैयाँसम्म लिन्थे । तर, अहिले अवस्था फेरिएको छ । खास कारण हामीलाई थाहा भएन’, नेपाल भारतमा सामान ओसारपसारको कारोबार गर्दै आएका व्यवसायी अनिल मिश्र भन्छन् ।

रुपन्देहीमा भैरहवा सटही काउन्टर सञ्चालन गर्दै आएका व्यवसायी पिताम्बर न्यौपानेका अनुसार एक महिनायता भारतीय मूल्य कम भएको र अहिले कारोबार शून्य जस्तै भएको बताए ।

‘नेपालमा मात्रै होइन, मैले भुटान र श्रीलंकामा रहेकालाई साथीहरुलाई सोधेको छु । उता पनि भारतीय नोटको मूल्य घटेको रहेछ’, उनले भने, । चीनबाट सुन आएर भारततर्फ अवैध कारोबार बढेकाले यस्तो भएको चर्चा सुनिएको छ । अर्कोतर्फ भारतीय नोटले डलर खरिद गर्न नपाएकाले पनि नेपालमा भारतीय नोट बढी आएको केही व्यापारीले सुनाएका छन् ।’

भारतले नोट बन्द गरेमा पछि समस्या आउने चिन्ता व्यवसायीमा बढेको छ । अहिले भारतीय बजारमा पनि नेपाली मूल्य चलाउन थालिएको छ । नेपालका अधिकांश क्षेत्रमापनि भारतीय नोट चल्तीमा छ ।

सीमावर्ती भारतीय शहरमा भारुको मूल्य घटेपछि यसको कारोबार गर्नेहरु चुपचापजस्तै छन् । बुटवलको बालाजी सटही काउन्टरका कर्मचारीले अहिले भारतीय नोटको सटहीको काम ठप्प जस्तै भएको बताए ।

‘कारोबार छैन, भारतीय नोट दिनेमात्र आउँछन् । लिने आउन नै छाडे’, उनले भने, ‘करिब १ महिना जति भयो, हामीकहाँ यसको खासै कारोबार नै भएन । पहिले १६० भन्दा केही थपेर बट्टामा लिइथ्यो । तर, अहिले घटेको हल्लापछि छैन ।’

कपिलवस्तुका व्यवसायी रामसेवक यादवले नेपाली आयातकर्ताले नेपाली मुद्रामै आफ्नो रकम लिन थालेकाले नेपाली मुद्राको प्रयोग अत्यधिक भइरहेको बताए ।

पछिल्लो समय नेपाल घुम्न आउने भारतीयहरुको संख्या ह्वात्तै बढेको छ । त्यस्तै नेपालका क्यासिनोहरुमा ठूलो संख्यामा भारतीयहरु भारुबाटै जुवा खेल्ने क्रम बढेकाले भारु थुप्रिएर यसको माग नेपालमा घटेको विश्लेषकहरुको बुझाइ छ ।

त्यसैगरी भारतको उत्तर प्रदेश र बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु आइरहेको छ ।

भैरहवाका व्यवसायी हरिश सेठिया बजारमा बढी हल्ला भएका कारण भारतीय नोटको कारोबार नै कम भएको बताउँछन् । ‘सीमावर्ती क्षेत्रमा सबै भारतीय नोटमै कारोबार हुन्छ, ठूलो कारोबार गर्नेलाई समस्या भएको हो, भुक्तानी लिनेले घटाएर लिन मानेका छैनन्, यसलाई नेपाल राष्ट्र बैंकले यथार्थ बुझेर तत्काल नियमन गर्न जरुरी छ’, उनले भने ।

२०७२ सालको भूकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दीको वेला व्यापारीले यसरी नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिएका थिए ।

अध्ययन गरिरहेका छौं- राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक भैरहवाका निमित्त प्रमुख गुलाब धवल नेपाली बजारमा भारतीय मुद्राको मूल्यमा केही कमी आएको बताउँछन् । ‘खुला सीमा छ, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ भइरहेको छ, नेपालबाट सुन भारत गएका कारण पनि यस्तो भएको हुनुपर्दछ’, उनले भने, ‘हामीले पनि अध्ययन गरिरहेका छौं ।’

अर्थ विश्लेषक माधवकुमार पौडेलले छायाँ अर्थतन्त्र र खुला सीमाका कारण यस्तो भएको बताए । ‘भारतीय रकमको बजार मूल्य लामो समयदेखि १६० मै चलेको छ, अहिले भारतीय नोटको कारोबार धेरै भएको र यताबाट सुन उता गएकाले यस्तो भएको हुनसक्छ’, उनले थपे, ‘नियामक निकाय सचेत हुनुपर्दछ, अवैध कारोबार गर्नेलाई निरुत्साहित बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर