आत्मदाह प्रयास गरेका प्रेम आचार्य विवेकशील-साझाका इलाम संयोजक, चुनावयता थिए निष्क्रिय – Nepal Press

आत्मदाह प्रयास गरेका प्रेम आचार्य विवेकशील-साझाका इलाम संयोजक, चुनावयता थिए निष्क्रिय

काठमाडौं । आज संसद भवन अगाडि आत्मदाह गर्ने प्रेम आचार्य विवेकशील–साझा पार्टीका नेता रहेको खुलेको छ । उनी पार्टीको इलाम जिल्ला संयोजकको भूमिकामा थिए ।

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले चुनावदेखि आचार्य पार्टीमा निष्क्रिय बनेको बताइन् । उनका अनुसार आचार्य प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारीमा थिए । तर, पछि विभिन्न कारण देखाएर ब्याक भए ।

‘उहाँले सुरुमा चुनाव लड्ने इच्छा गर्नुभएको थियो । हामीले पनि टिकट दिने भनेका थियौं । पछि खोइ के कारणले हो निर्णय परिवर्तन गर्नुभयो’, बास्कोटाले भनिन् ।

आचार्यले बास्कोटालगायत सो पार्टीका थुप्रै नेताहरुलाई हिजो–अस्ति इमेल गरेका थिए । त्यही इमेल उनले आज आत्मदाह अगाडि फेसबुकमा राखेका हुन् । एकदमै लामो भएकाले इमेल पाउनेहरु पनि धेरैले पूरा पढेनन् । त्यसैले उनको मनसायबारे कमैलाई थाहा भयो ।

आचार्यसँग आफ्नो प्रत्यक्ष भेट नभए पनि फोनमा धेरैपटक कुरा भएको बास्कोटा बताउँछिन् ।

‘उहाँमा कुनै असामान्य खालको मनोदशा भएको महसुस गरेको थिइनँ । चुनावपछि उहाँ निष्क्रिय हुनुभयो । तर, पार्टीबाट राजीनामा गर्नुभएको छैन’, बास्कोटाले भनिन् ।

आफ्नो स्टाटसमा आचार्यले विवेकशील साझाका थुप्रै नेताहरुको नामै लिएर पार्टीलाई तितरबितर पारेको भन्दै आक्रोश पोखेका छन् । गत चुनावमा आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलामबाट लड्न अफर गरेको भए पनि नलड्ने निर्णय लिएको उनको भनाइ छ ।

आचार्यका श्रीमती र दुई छोरी छन् । उनले आफू ठूलो आर्थिक संकटमा फसेको बताउँदै श्रीमतीलाई सहयोग गर्न मनकारीहरुसँग अपिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *