होम स्टेमा बेहोस भएकी ‘प्रसाद २’ की कोरस डान्सरको उपचार जारी, गिभिनाको पहलमा साढे तीन लाख संकलन – Nepal Press

होम स्टेमा बेहोस भएकी ‘प्रसाद २’ की कोरस डान्सरको उपचार जारी, गिभिनाको पहलमा साढे तीन लाख संकलन

काठमाडौं । केही दिनअघि बेहोस भएर ढलेकी चलचित्र प्रसाद २ की कोरस डान्सर सपना महर्जन अहिले गण्डकी अस्पतालमा उपचाररत छिन् । उनको एउटा हात र खुट्टा अझै नचलेको पोखराकी सामाजिक कार्यकर्ता तथा शिक्षिका गिभिना मगरले जानकारी दिइन् ।

सपना अस्वस्थ भएर अस्पताल भर्ना गरिएपछि गिभिनाले सामाजिक सञ्जालमा प्रसाद २ को टीमप्रति आक्रोश व्यक्त गर्दै एक भिडियो पोस्ट गरेकी थिइन् । आफ्नो युनिटको एक सदस्य बिरामी हुँदा पनि अस्पताल नपुर्‍याएको उनको आरोप थियो । तर, चलचित्र युनिटले सपना सुटिङका क्रममा नभएर होम स्टेमा बस्दा बेहोस भएकाले समयमा जानकारी नपाएको बताएको छ । यद्यपि मानवीय हिसाबले चलचित्रका निर्माताले सपनालाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

ब्याक डान्सरको रुपमा ‘प्रसाद २’ मा काम गरिरहेकी सपना आठ दिनअघि ढलेकी हुन् । त्यस दिनको सुटिङ सकिएपछि होम स्टेमा बसेका वेला बेलुका ७ बजे उनी अचानक बेहोस भएकी थिइन् । त्यसपछि कोरसका अरु सदस्यहरुले उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याएका थिए । तर, त्यहाँ सुधार हुन नसकेपछि गण्डकी अस्पतालमा रिफर गरिएको थियो ।

गिभिनाका अनुसार कोही पनि जिम्मेवार व्यक्ति नभएको तथा अस्पताल भर्ना गर्ने पैसा पनि नभएकाले स्वास्थ्य चौकीबाट सपनालाई उनकै घर लगेर राति १२ बजे आमाको जिम्मा लगाइएको थियो । परिवारले पनि पैसा नभएकाले अस्पताल नलगी राभरि घरमै राखे । त्यसको भोलिपल्ट बिहान ८ बजे छिमेकीसँग ५ हजार रुपैयाँ सापटी लिएर आमाले सपनालाई गण्डकी अस्पतालमा भर्ना गरेकी थिइन् ।

भर्ना गर्नेबित्तिकै डाक्टरले उनलाई आईसीयूमा राख्न भनेका थिए । त्यसपछि कोरसका व्यक्तिहरुले सहयोग संकलन गरी बेलुका ७ बजे आईसीयूमा भर्ना गरिएको हो ।

भर्ना गरेको ३ दिनपछि आफूलाई कोरसकै एक बहिनीले सपनाको स्थितिबारे बताउँदै पैसाको समस्या परेको जानकारी गराएको गिभिनाको भनाइ छ ।

‘घटना सुनेपछि मैले उहाँहरुलाई एकचोटि फिल्म निर्माण टीमसँग कुरा गर्न भनें । मलाई यो क्षेत्रबारे त्यस्तो केही जानकारी थिएन । तर, कुरा सुनाउँदा पनि उहाँहरुले सकारात्मक प्रतिक्रिया नदिएको भनेपछि मैले उक्त भिडियो बनाएको हो । अनि सहयोग अभियान पनि सुरु गरें’, गिभिनाले नेपाल प्रेससँग भनिन् ।

हरेक चोटि अस्पतालमा उपचार गराउँदा सापटी माग्नुपर्ने अनि साथीभाइले नाच्दै सहयोग उठाउनुपर्ने भएपछि आफूले अभियान सुरु गरेको उनले बताइन् । उनको अभियानबाट ३ लाख ५८ हजार ६०८ रुपैया उठाएर सपनाकी आमालाई हस्तान्तरण गरिएको छ ।

मंगलबार बिहान चलचित्रको निर्माण टीमले नगद ५१ हजार रुपैयाँ सपनाको आमाको अकाउन्टमा हालिदिएको छ भने सपनाको अस्पताल खर्च पनि व्यहोर्ने बताएको छ । अहिले सपनाको एउटा हात र एउटा खुट्टा नचलेको गिभिनाले बताइन् ।

‘ठ्याक्कै के भएको हो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कहिले ठीक हुन्छ पनि थाहा छैन । उनको टाउकोमा रगत जमेको छ । रगतको मात्रा घट्यो भने अप्रेसन गर्न नपर्ने अन्यथा अप्रेसन सुरु गर्नुपर्ने डाक्टरले बताएका छन्’, गिभिनाले भनिन्, ‘हामीले उनलाई प्रेसर हुन्छ भनेर अहिलेसम्म यसबारे केही सोधेका छैनौं । अस्पताल भर्ना भएको केही दिनपछि भने उनलाई यो घटनाबारे केही सोधेको थिएँ । उनले नाच्दानाच्दै लडेको बताएकी थिइन् । तर कहाँ, कसरी, के भनेर मैले सम्पूर्ण विवरण भने लिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर