‘अप्रोच’ र ‘नो रिपोर्ट’का आधारमा स्पट फिक्सिङको अनुसन्धान, यस कारण पक्राउ परे आदिल – Nepal Press

‘अप्रोच’ र ‘नो रिपोर्ट’का आधारमा स्पट फिक्सिङको अनुसन्धान, यस कारण पक्राउ परे आदिल

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले स्पट फिक्सिङका लागि भएको ‘अप्रोच’ र ‘नो रिपोर्ट’का आधारमा संलग्नलाई पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले स्पट फिक्सिङका लागि अप्रोच भएको प्रमाण रहेको दाबी गरेका छन् । उनका अनुसार स्पट फिक्सिङका लागि अप्रोच भएपछि एन्टी करप्सन युनिटलाई रिपोर्ट नगर्ने खेलाडीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

‘स्पट फिक्सिङका लागि अप्रोच भएपछि त्यसबारे खेलाडीले एन्टी करप्सन युनिटलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । तर त्यसरी अप्रोच हुँदा पनि दुईजना खेलाडीले रिपोर्ट नगरेको देखियो । रिपोर्ट नगर्नु भनेको एक्सेप्ट वा नो रिजेक्सन सरह हो । यसरी रिपोर्ट नगर्नु भनेको कसुर गरे सरह हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पनि भन्ने रहेछ’, नेपाल प्रेससँग कुराकानी गर्दै आचार्यले भने ।

हालसालै काठमाडौंमा सम्पन्न नेपाल टी–२० लिग क्रिकेटमा स्पट फिक्सिङको हल्ला चलेपछि गृह मन्त्रालयले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि सीआईबीले डीएसपीको संयोजकत्वमा एकजना इन्सपेक्टर, दुईजना वरिष्ठ नायब निरीक्षक–सई र एकजना सहायक निरीक्षक–असई रहने गरी ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।

समितिले प्रारम्भिकरुपमा १० जना संलग्न रहेको निष्कर्ष निकालेको छ । त्यसमध्ये विश्व कीर्तिमानी क्रिकेटर तथा नेपाली टोलीका पूर्वसदस्य महबुब आलम र नेपाली टोलीका अलराउन्डर आदिल अन्सारीलाई पक्राउ परिसकेका छन् । ४ नेपाली र ६ विदेशी संलग्न रहेको सीआईबीको प्रारम्भिक निष्कर्ष छ । त्यसमा २ जना खेलाडी, टिम म्यानेजमेन्टमा रहेका म्यानेजरसहित ४ जना, सेभेन थ्री स्पोर्ट्सका दुईजना र दुई नेपाली बिचौलिया ‘मध्यस्थकर्ता’ रहेको बताइएको छ । खेलाडीमा आदिलबाहेक एकजना विदेशी खेलाडी छन् । स्पट फिक्सिङका लागि प्रति खेल ६ देखि १० लाख रुपैयाँसम्म अफर भएको पाइएको सीआईबी प्रवक्ता सन्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीको अनुसन्धानमा प्रतियोगितामा ५ खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको पाइएको छ । प्रवक्ता थापाका अनुसार तीमध्ये ३ जना खेलाडीले अफर रिजेक्ट गरेर एन्टी करप्सन युनिटलाई रिपोर्ट गरेका थिए ।

महबुबका दुवै अप्रोच रिजेक्ट

सीआईबीले पक्राउ गरेका ४१ वर्षीय महबुबले स्पट फिक्सिङका लागि दुईजना खेलाडीलाई अप्रोच गरेको पाइएको छ ।
प्रवक्ता थापाका अनुसार स्पट फिक्सिङका सन्दर्भमा महबुबको सम्पर्क टीम म्यानेजमेन्ट वा आयोजकका कसैसँग पनि थिएन । उनले एक बिचौलिया नेपालीको निर्देशनअनुसार गरेको एक अनुसन्धान अधिकारीले भने ।

‘महबुबको सम्पर्क खेलाडीसँग सोझै हुने भएकाले बेटिङमा संलग्नहरुले उनलाई प्रयोग गरेको देखिन्छ । ती नेपालीको पनि पहिचान खुलिसकेको छ’, ती अधिकारीले भने ।

महबुबले फिक्सिङका लागि गरेको अप्रोचको अडियो कल र म्यासेजसमेत रहेको प्रहरीको दाबी छ । महबुबले अप्रोच गरेका दुवै खेलाडीले प्रस्ताव अस्विकार गरेर एन्टी करप्सन युनिटलाई रिपोर्ट गरेकाले उनको संलग्नता खुट्याउन प्रहरीलाई सजिलो भएको थियो ।

‘आदिलले रिपोर्ट गरेनन्, अप्रोचअनुसार प्रदर्शन देखियो’

सीआईबीले परिस्थिती जन्य प्रमाणका आधारमा आदिललाई पक्राउ गरेको छ । स्रोतका अनुसार फिक्सिङका लागि अप्रोच भएपछि आदिलले त्यसबारे एन्टी करप्सन युनिटलाई रिपोर्ट गरेका थिएनन् । बरु अप्रोचअनुसार उनले लगातार दुई खेलमा लगातार बलमा नोबल र वाइड फ्याँकेको पाइएको छ ।

‘एकातर्फ उनले रिपोर्ट गरेनन् भने अर्कोतर्फ अप्रोचअनुसार खेल्दिए । यहीअनुसार पैसाको कारोबार नदेखिएपनि उनको संलग्नताबारे प्रश्न गर्ने धेरै ठाउँ छन्’, अनुसन्धान अधिकारी भन्छन् । प्रवक्ता थापाले थप दुईजना पक्राउ पर्ने क्रममा रहेको पनि बताए । विदेशमा रहेकालाई नेपाल झिकाएर अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढाइएको पनि सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल क्रिकेट संघ–क्यानबाट ८ वर्षका लागि ३२ करोड रुपैयाँमा नेपाल टी–२० आयोजना गर्ने जिम्मा पाएको सेभेन थ्री स्पोर्टसका जतिन आलुवालिया र अभिषेक सक्लानी दुवैजना स्पट फिक्सिङमा जोडिएका छन् । बिना टेन्डर सेभेन थ्री स्पोर्ट्सलाई जिम्मा दिएको क्यानका कोही पनि यो प्रकरणमा नजोडिएको सीआईबी प्रवक्ता थापाले बताए ।

आरोपीमाथि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम कारबाही गर्ने तयारी सीआईबीको छ । उक्त ऐनको दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र त्यसो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने र कसुर गर्दा लेनदेन भएको रकम जफत हुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर