निजी एयरलाइन्सका जहाज कति वर्षका ? सबैभन्दा पुरानो बुद्धका, अरुभन्दा यतीका नयाँ (सूचीसहित) – Nepal Press

निजी एयरलाइन्सका जहाज कति वर्षका ? सबैभन्दा पुरानो बुद्धका, अरुभन्दा यतीका नयाँ (सूचीसहित)

काठमाडौं । नेपालमा जहाज दुर्घटना भएको समयमा धेरैजसो जहाज नयाँ वा पुरानो भन्दै बहस चल्ने गरेको छ । गत माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना भएसँगै नेपालले थोत्रा जहाज प्रयोग गरेर दुर्घटना निम्त्याएको भन्दै सडकदेखि सदनसम्म आलोचनासमेत भयो ।

आम मानिसको बुझाइमा जहाज पनि थोत्रा हुन्छन् भन्ने छ । तर, विज्ञहरुले जहाज दर्ताको हिसाबले पुरानो भए पनि थोत्रा नहुने बताउँदै आएका छन् । बरु जहाजको मेसिनरी पार्टपुर्जाको चाहिँ आयु हुने र सोहीअनुसार फेरबदल गर्नुपर्ने सुझाव विज्ञहरुले दिने गरेका छन् ।

यसअघि हामीले जहाज थोत्रा हुन्छन् कि हुँदैनन् भन्ने विषय उठान गरेका थियौं । यो पटक नेपालमा सञ्चालन भइरहेका जहाज कुन कति वर्ष पहिलेदेखि उडिरहेका छन् भन्ने तथ्य केलाएका छौं ।

नेपालको ‘ट्रंक रुट’मा चल्ने एयर काफ्टहरुको निर्माण तथा तथ्यांकअनुसार सबैभन्दा पुराना जहाज बुद्ध एयरसँग देखिएका छन् । यतीसँग भने सबैभन्दा नयाँ जहाज छन् ।

जहाज चलेको वर्षका अधारमा सबैभन्दा लामो समयदेखि बुद्ध एयरका जहाज उडिरहेको देखिएको छ भने सबैभन्दा कम उमेरका यती एयरलाइन्सका जहाज सक्रिय देखिन्छन् ।

बुद्ध एयर

बुद्धको जहाजले २८ वर्षदेखि उडान भरिरहेको देखिन्छ । बुद्धको नाइन एन एआईएम कलसाइन रहेको एटीआर ४२-३२० जहाजले पहिलो उडान सन् १९९५ जनवरीमा गरेको थियो ।

नाइन एन एआईएन कलसाइन रहेको एटीआर ४२-३२० जहाजले पनि पहिलो उडान सन् १९९५ अगस्ट २९ बाट गरेको थियो । यसले उडान थालेको २७.४ वर्ष भयो । अर्को नाइन एन एआईटी कलसाइन भएको एटीआर ४२-३२० जहाजले पनि विगत २६ वर्षदेखि उडान गरिरहेको छ । यसको पहिलो उडान १९९६ मे २३ मा भएको थियो ।

बुद्धका विभिन्न कलसाइनका एटीआर ७२-५०० जहाज पनि १२ वर्षदेखि २५ वर्षसम्म उडान गरिरहेका छन् ।

सौर्य एयरलाइन्स

सौर्यसँग अधिकतम २२ वर्ष पहिलेदेखि उडाइरहेका जहाज छन् । सौर्यको सीआरजे २००-ईआर नाइनएन एएलई कलसाइन भएको जहाज पहिलो पटक सन् २००१ मा उडेको थियो । सीआरजे २००-ईआर नाइन एमई कलसाइनको जहाज सन् २००३ मा पहिलोपटक उडेको थियो । यी जहाजहरु अहिले पनि सक्रिय छन् ।

श्री एयरलाइन्स

श्री एयरलाइन्सको पनि विभिन्न कलसाइनको सीआरजे २०० ईआर जहाज ६ वर्षदेखि १६ वर्षसम्मका छन् ।

यती एयरलाइन्स

यती एयरलाइन्सका विभिन्न कल साइनका एटीआर ७२-५०० जहान ११.१ वर्षदेखि १५.८ वर्षसम्मका रहेका छन् ।

अन्य देशको क्षेत्रीय उडानका जहाज कति वर्ष पुराना ?

यस्तै इण्डियाको एलिस एयर २४.४ वर्ष, एयर इण्डिया एक्सप्रेस ११.९ वर्ष, स्पाइजेट १० वर्ष, एयर इण्डिया १०.२ वर्ष, इण्डिगो १०.७ वर्ष र ब्लुडार्ट एभिएसनको विमान २८ वर्ष पुरानो छ ।

यता थाइल्याण्डको बैंकक एयरवेज १२.८ वर्ष, ग्रिसको एजेन एयरलाइन्स ९.१ वर्ष, क्यानडाको वेस्ट जेट ११.१ वर्ष पुरानो हो । यस्तै यूएसएसको जेट ब्लु एयरवेजको विमान १२.४ वर्षदेखि सञ्चालनमा छ । अजरबैजानको अजरबैजान एयरलाइन्सका विमान पनि १२.५ वर्षदेखि उडिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *