सन्दीपलाई राष्ट्रिय टीममा फर्काउन आईसीसीको ‘ग्रीन सिग्नल’ – Nepal Press

सन्दीपलाई राष्ट्रिय टीममा फर्काउन आईसीसीको ‘ग्रीन सिग्नल’

क्यान अझै अनिर्णित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ । आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ । तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन् । त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’ उनले भने ।

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो । जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणमा अदालतले रोक लगाएको छ । प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गर्न बाँकी छ ।

अदालतले सन्दीपलाई क्रिकेट खेल्न रोक लगाएको छैन । नेपालको कानूनअनुसार पनि उनलाई राष्ट्रिय टीमबाट खेल्न कुनै बाधा नरहेको सन्दीपका वकिलहरु बताउँछन् । विदेश जान रोक लगाइएकाले उनले देशबाहिर हुने खेलहरू भने तत्काल खेल्न सक्दैनन् । तर, नेपालभित्रै हुने खेलमा भने सन्दीपलाई खेलाउँदा समस्या नहुने तर्क उनका वकिलहरूको छ ।

क्यानले सन्दीपलाई खेलाउन मिल्ने वा नमिल्ने विषयमा कानुनी परामर्श गरिरहेको छ । तर, निष्कर्षमा पुग्न सकेको छैन । सन्दीपको विषयमा निर्णय लिन नसक्दा आउँदो महिना हुने त्रिकोणात्मक सिरिजका लागि टीम घोषणा र बन्द प्रशिक्षण्मा पनि ढिलाइ भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *