सालकलाई मकवानपुरको ‘गौरव प्राणी’ घोषणा गरिँदै – Nepal Press

सालकलाई मकवानपुरको ‘गौरव प्राणी’ घोषणा गरिँदै

हेटौँडा । अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तुको रूपमा रहेको सालक‘प्यागोलिन’ लाई मकवानपुरको ‘गौरव प्राणी’ घोषण गरिने भएको छ ।

विश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक मकवानपुरको हेटौँडा उपमहानगर सहित मकवानपुरगढी, बकैया क्षेत्रमा पाइन्छ । यहाँका चुच्चे खोला, रानी, पीप्लेपोखरा, सुन्दर सहित आधा दर्जन बढी सामुदायिक वनले संरक्षण गर्दै आइरहेको सालकलाई मकवानपुरको ‘गौरव प्राणी’ घोषणा गर्न लागिएको हो ।

प्रत्येक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिवार मनाइने सालक दिवसको अवसरमा फागुन ६ गते मकवानपुरमा कार्यक्रमको आयोजना गरी गौरव प्राणी घोषणा गर्न लागिएको हो ।

मकवानपुरमा सयौँको संख्यामा सालक संरक्षणमा रहेका छन् ।

आगामी फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाइमा जिल्ला समन्वय समिति मकवानपुरको अभिभावकत्व एवम् स्थानीयतहहरुको व्यवस्थापकीय सहयोगमा गौरवको प्राणी घोषणा गर्न लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।

विश्वबाट नै लोप हुन लागेको सालक नेपालको मकवानपुरमा सयौँको संख्यामा रहनु हाम्रो लागि गौरवको विषय भएको भन्दै सालकलाई मकवानपुरको गौरवको रूपमा घोषणा गर्न लागिएको उनले बताए ।

प्रमुख आचार्यका अनुसार आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो ।

पछिल्लो समय सालकको मासुले रोगव्याधि काट्ने पोसिलो हुने अन्धविश्वासको कारण सालकको खपटा तथा मासुको चोरी निकासी हुने प्रचलन बढेको कारण सालको संरक्षणमा चुनौती थपिएको उनको भनाई रहेको छ । तर मकवानपुरमा भने सचेत नागरिकहरूले सालको संरक्षणमा ध्यान दिएको उनले बताए ।

सालक समुन्द्री सतहबाट करिब दुई हजार मिटरसम्म पाइने स्तनधारी जीव हो । सालकले घमाइलो र जुका नलाग्ने ठाउँमा वासस्थान बनाउँछ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खबटा हुन्छ ।

सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ ।

आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महसुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर