एमालेको भागमा परेको राष्ट्रपतिमा कांग्रेसको आँखा : प्रधानमन्त्री प्रचण्डको परीक्षा – Nepal Press

एमालेको भागमा परेको राष्ट्रपतिमा कांग्रेसको आँखा : प्रधानमन्त्री प्रचण्डको परीक्षा

काठमाडौं । प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाइसकेपछि सबै दलहरूको ध्यान राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित भएको छ । राष्ट्रपतिको निर्वाचनबारे संविधान र निर्वाचन कानून बाझिएकाले कहिले हुन्छ ? भन्ने अझै सरकार टुंग्याउन सकेको छैन ।

प्रतिनिधिसभामा विश्वासको मत लिँदा ‘अस्वाभाविक’ समर्थन पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन् । जुन प्रचण्डको लागि सहज छैन ।

‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरू र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं’, प्रधानमन्त्रीले भनेका छन् ।

सत्ता साझेदार दलहरूबीचको भागबण्डा मिलाउँदा राष्ट्रपति एमालेको भागमा परेको छ । प्रचण्डले भनेझैं सबै दलहरूबीच सहमति हुन एमालेले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने कतिपयले टिप्पणी गर्ने गरेका छन् । जुन कुरा राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको कांग्रेसले स्वीकार्ने पक्षमा छैन ।

बुधबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका थिए, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ ।’

तर, प्रधानमन्त्रीले राष्ट्रपतिमा समझदारीको प्रयास गरेपछि सभामुख र उपसभामुखमा आफ्नै पार्टीको तर्फबाट हुने एमाले नेताहरूको बुझाइ छ ।

यता, प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेको कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसमा कांग्रेसले पनि उम्मेदवारी दिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने, ‘कुनै कारणबाट राष्ट्रपतिको निर्वाचन सार्ने काम हुनुहुँदैन । ऐनमा समस्या छन् भने समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।’

उनले माघ २९ पछि राष्ट्रपतिको निर्वाचनमा यताउति गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार नहुने जिकिर गरेका छन् । कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेर एमाले, माओवादीसहित सबै दलहरूलाई समर्थन माग्ने उनले बताए।

प्रचण्डको परीक्षा !

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर ओली–प्रचण्डको सम्बन्धमा कांग्रेसले आशंकाको बिजारोपण गरेको छ । सबै दलहरूबीच समझदारीको प्रयास गरेका प्रधानमन्त्रीको राष्ट्रपति निर्वाचनमा परीक्षा हुने प्रवक्ता महत पनि बताउँछन् ।

‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ? संविधानको रक्षा नगर्नेलाई राष्ट्रपति दिँदा परिणाम के होला ? यो सबभन्दा परीक्षणको घडी छ’ महत बताउँछन् ।

कांग्रेसका कतिपय नेताहरूले सार्वजनिक रूपमै राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धन भत्काउने मिसन बनाएको स्वीकारिसकेका छन् । तर, माओवादी केन्द्रका महासचिव देव गुरुङ यही गठबन्धन कायम रहने दाबी गर्छन् ।

उनी भन्छन्, ‘कांग्रेस नेताहरूको कुरा उहाँहरूले नै जान्नुहोला । तर, हामी राजनीतिक स्थायित्वको पक्षमा छौं । त्यसैले हामी अहिले अस्थिरताको खेलमा लाग्दैनौं । यहाँ गठबन्धनको पक्षमा छौं ।’

प्रधानमन्त्रीले विश्वासको मत दिने सबै दलहरूलाई मिलाएर लान खोजेको उनी सुनाउँछन् ।

प्रचण्डसँगको संवादमा कांग्रेस

सत्ता साझेदार दलमा एमालेको भागमा परेको राष्ट्रपति कांग्रेसले जसरी पनि लिने रणनीति अघि सारेको छ । राष्ट्रपतिको निर्वाचनलाई नै लक्षित गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस अहिले पनि निरन्तर संवादमै छन् ।

प्रचण्डलाई प्रधानमन्त्री नदिनु गम्भीर गल्ती भएको महसुस गरिसकेको कांग्रेसका नेताहरू अहिले बारम्बार बालुवाटार पुगिरहेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेता प्रचण्डसँग निरन्तर संवादमा छन् ।

कांग्रेसका मात्रै नभएर माओवादी उपमहासचिव जनार्दन शर्मा पनि देउवासँग संवादमै छन् । उनी एमालेसँगभन्दा कांग्रेससँगको सहकार्य कम्फर्टेबल चाहन्छन् ।

कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्डलाई बालकोटसम्म पुर्‍याउन मुख्य भूमिका खेल्ने अर्का उपमहासचिव वर्षमान पुन हुन् । उनीसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि सक्रिय भएका थिए । तर, अहिले पनि उनीहरू यही गठबन्धनलाई जोगाउने पक्षमा छन् ।

कांग्रेसका कतिपय नेताहरूले राष्ट्रपतिको निर्वाचनसम्मा सत्ता गठबन्धन भत्काउने मिसन लिएको बताउँदै आएपछि सांसद अर्जुननसिंह केसी आफूहरू अस्थिरताको कारक नबन्ने बताउँछन् ।

उनले आइतबार नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘गठबन्धन फुटाउने र टुटाउने हामी लाग्दैनौं । हामी अहिले अस्थिरताको पक्षमा छैनौं । अस्थिरताको कारक तत्व कांग्रेस बन्नु पनि हुँदैन । र, बन्दैन पनि ।’

उनले सत्तागठबन्धनकै कारणले अस्थिरता आएमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएकाले आफ्नो जिम्मेवारी बहन गर्ने उनको भनाइ छ ।

‘राष्ट्रपतिमा स्वाभाविकरूपमा शक्ति नियन्त्रण, सन्तुलन र अहिलेको जस्तो राष्ट्रिय चुनौतीको सामना गर्न कांग्रेसको उम्मेदवारी दाबी स्वाभाविक हो’ उनको भनाइ छ।

एमाले विश्वस्त

सभामुख र उपसभामुखको निर्वाचनमा सफल भएपछि एमालेले राष्ट्रपतिको निर्वाचनमा पनि सत्ता गठबन्धनको सहमति अनुसार हुनेमा विश्वस्त देखिएको छ।

प्रधानमन्त्री र कांग्रेसका केही नेताहरूको अभिव्यक्तिले आशंकित रहेपनि एमाले नेताहरू राष्ट्रपति आफ्नो पार्टीले सिफारिस गरेको व्यक्तिनै हुनेमा ढुक्क छन् ।

एमालेबाट राष्ट्रपतिको चर्चामा रहेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिमा दलहरूले सक्षम व्यक्ति पठाउनुपर्ने तर्क राख्छन्।

उनी भन्छन्, ‘कांग्रेसले पनि इच्छा प्रकट गर्नु स्वाभाविक हो । तर, राष्ट्रपतिको उम्मेदवार चयन गर्दा सबै दलहरूले सक्षम व्यक्ति नै पठाउनुपर्छ । त्यसका लागि पार्टीले निर्णय गर्ला ।’

आफू स्वाभाविक दाबेदार भएपनि पार्टीको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ । सभामुख र उपससभामुखको निर्वाचनबाटै नतिजा देखिसकेको भएकाले यही गठबन्धनबाट सहमति अनुसार राष्ट्रपतिको चयन हुने उनको दाबी छ ।

एमालेबाट नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेललगायतका नेताहरूको नाम चर्चामा छ।

एमालेबाट राष्ट्रपतिपछि माओवादीले उपराष्ट्रपति पाउने भएकाले प्रचण्डले गठबन्धनमा भएको सहमति नतोड्नेमा एमाले नेता आश्वस्त देखिन्छन् । प्रचण्डलाई पनि एमालेसँगको सहमतिलाई लामो समयसम्मै राख्न पार्टीभित्रैबाट तीब्र दबाब छ ।

तर, सहमतिअनुसार एमालेको भागमा राष्ट्रपति परेको भएकाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको व्यक्ति नै राष्ट्रपति बन्ने निश्चित छ। त्यस विषयमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग पनि बारबार छलफल गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर