विपक्षी दलबारे संसद सचिवालय नै अन्यौलग्रस्त, कांग्रेसलाई दिएको जवाफबारे के भन्छन् प्रवक्ता ? – Nepal Press

विपक्षी दलबारे संसद सचिवालय नै अन्यौलग्रस्त, कांग्रेसलाई दिएको जवाफबारे के भन्छन् प्रवक्ता ?

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको नेताको मान्यताबारे निर्णय लिइनसकेको संसद सचिवालयले जनाएको छ । कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको समाचार बाहिरिएपछि सचिवालयले यस्तो बताएको हो ।

कांग्रेस संसदीय दलले विपक्षी दलको नेता शेरबहादुर देउवालाई सेवा सुविधा उपलब्ध माग्दै कांग्रेसले सांसद सुविधा व्यवस्थापन शाखामा कांग्रेस संसदीय दलले निवेदन दिएको थियो । विपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि आ-आफ्नो मागदाबीसहित संघीय संसद सचिवालयमा पत्राचार गरिसकेका छन् ।

तर, संसद सचिवालयले कांग्रेस संसदीय दललाई लेखेको पत्रमा विपक्षी दलको नेताको हैसियतको सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन-२०७३ को सम्बन्धित दफाहरू र अनुसूची १ तथा २ बमोजिम हुने मात्र लेखिएको छ । उक्त पत्रले विपक्षी दलको मान्यता दिएको नभएर संसदीय दलको कार्यालयले लेखेको पत्रको जवाफमात्रै भएको सचिवालय उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि कांग्रेस विपक्षी दल हुने/नहुने भनेर प्रश्न उठिरहेको छ ।

संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव एकराम गिरीले नेपाल प्रेससँग भने, ‘विपक्षी दलको नेता कसलाई भन्ने कुरा हामीले निर्क्यौल गर्ने होइन । सभामुख र उपसभामुख निर्वाचित भएर पदभार ग्रहण गरिसक्नुभएको छ । महासचिव पनि हुनुहुन्छ । उहाँहरूले कानूनी व्यवस्था अनुसार निर्क्यौल गर्नुहुन्छ । अनिमात्र भन्न सकिन्छ ।’

सचिवालय स्रोतले भन्‍यो, ‘खासमा संसदीय दलको कार्यालयले हामीलाई यस्तो खालको पत्र लेख्ने नै होइन । विपक्षी दलको नेता दाबी गर्ने हो भने पनि नेपाली काँग्रेस पार्टी कार्यालयले पत्राचार गर्नुपर्ने हो । दलको उपसचिवले पत्र लेख्नुभएको छ । त्यसैले पत्रमा उल्लेख भएको व्यहोरा उल्लेख गरेर मात्रै पत्राचार गरेको हो ।’

विपक्षी दलको नेता शेरबहादुर देउवा नै पत्रमा किन लेखिएको हो त मान्यता नपाएको हो भने भन्ने प्रश्नमा स्रोतले भन्यो, ‘संसदीय दलको कार्यालयले नै विपक्षी दलका नेता शेरबहादुर देउवा भनेर उल्लेख गरेको थियो । जे उल्लेख थियो, त्यही हामीले पनि लेखेर पठाएको हो । हामीले मान्यता दिने पनि होइन र हामीले लेखेको पनि होइन ।’

यद्यपि संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखा र शाखाले पत्रमा देउवालाई विपक्षी दलको नेता भनेर लेख्न चाहेको थियो । के गर्ने भनेर संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसँग सल्लाह गर्दा महासचिवले पत्रमा जे लेखिएको छ, त्यही व्यहोरा उल्लेख गरेर पठाउन मौखिक निर्देश दिएपछि सचिवालयले प्रमुख विपक्षी दलको नेता भनेर उल्लेख गरेको स्रोतले बताएको छ ।


प्रतिक्रिया

One thought on “विपक्षी दलबारे संसद सचिवालय नै अन्यौलग्रस्त, कांग्रेसलाई दिएको जवाफबारे के भन्छन् प्रवक्ता ?

  1. बिचरा काङ्रेसले आफ्नु लिङ के हो पहिचान गरिदेउ भनेर अनुरोध गरेछ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर