पाँच बुँदे माग अघि सार्दै केबल व्यवसायीद्वारा संघर्ष समिति गठन, तालाचाबी सरकारलाई बुझाउने चेतावनी – Nepal Press

पाँच बुँदे माग अघि सार्दै केबल व्यवसायीद्वारा संघर्ष समिति गठन, तालाचाबी सरकारलाई बुझाउने चेतावनी

काठमाडौं । केबल व्यवसायीहरुको राष्ट्रिय भेलाले यस व्यवसायभित्र विद्यमान समस्या समाधान तथा हकहित स्थापित गर्न संघर्ष समिति गठन गरिएको छ । दिनेश सुवेदीको संयोजकत्वमा गठित समितिमा ९५ सदस्य छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा र नेपाल केबल टेलिभिजनका अध्यक्ष सुधीर पराजुलीको उपस्थितिमा सम्पन्न भेलाले पाँचवटा मागहरु अघि सार्दै संघर्षमा जुट्ने निर्णय गरेको हो । विद्युतीय पोल प्रयोग तथा सोको भाडा मुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको तत्काल कार्यान्वयन गर्नुपर्नेमा भेलाले जोड दिएको छ ।

केबल व्यवसायीको हकमा २०७५ श्रावणपूर्वको भाडा दर कायम गर्नुपर्ने र हाल पोल भाडाको विषयलाई लिएर केबलको तार काट्ने उपकरण जफत गर्ने विद्युत आपूर्ति बन्द गर्नेजस्ता नेपाल विद्युत प्राधिकरणका गैरकानूनी कार्यहरुमा तत्काल रोक लगाउनुपर्ने व्यवसायीहरुले गरेका छन् ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२, विज्ञापन ऐन २७६ तथा विज्ञापन नियमावली २०७७ विपरित इन्टरनेट र आइपीटीभीका नाममा ओटीटी मोबाइल एप तथा युट्यूव र फेसबुकमार्फत गैरकानूनीरुपमा प्रसारण भइरहेका कार्यक्रम तत्काल बन्द गराउनुपर्ने भनिएको छ ।

भेलाले इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको नाममा आइपीटीटी सेवा निशुल्क गरी बन्डलिङ प्याकेज बनाएर इन्टरनेट सेवा बिक्री वितरण गर्ने कार्यमा तत्काल रोक लगाउन पनि माग गरेको छ । यसैगरी, आइपीटीभी प्रदायकहरुले डाउनलिङ्क अनुमति प्राप्त लिनियर कन्टेन्ट तथा स्वदेशी इजाजतपत्र प्राप्त च्यानलहरु मात्र प्रसारण गर्न पाउने कानूनको कडाइका साथ पालना गराउन माग गरिएको छ ।

पाँचौं बुँदामा निःशुल्क आइपीटीभीको नाममा वर्षौंदेखि राष्ट्रिय प्रसारण ऐन विपरित टिभी कार्यक्रम प्रशारण गरिरहेका इन्टरनेट सेवा प्रदायक मार्फत गरिएको प्रसारण तत्काल बन्द गराउनुपर्ने उल्लेख छ ।

त्यस्ता आइएसपीहरुसँग हालसम्मको प्रसारण तथा वितरण शुल्क र जरिवाना असुल गर्नुपर्ने अन्यथा केबल व्यवसायीहरुले हालसम्म बुझाइसकेको प्रसारण तथा वितरण शुल्क समेत फिर्ता माग गरिएको छ । माग पूरा नभए व्यवसायीले सरकारसमक्ष आफ्नो व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रव शर्मा र नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर