स्पट फिक्सिङबारे आईसीसीको प्रतिवेदन सीआईबीलाई- प्रहरी अनुसन्धानसँग हुबहु मिलेको दाबी – Nepal Press

स्पट फिक्सिङबारे आईसीसीको प्रतिवेदन सीआईबीलाई- प्रहरी अनुसन्धानसँग हुबहु मिलेको दाबी

काठमाडौं । हालै काठमाडौंमा सम्पन्न नेपाल टी-२० लिग क्रिकेटमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपितहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

सीआईबी स्रोतका अनुसार हालसम्म तीन जना पक्राउ परिसकेका छन् । स्पट फिक्सिङमा करिब एक दर्जनको संलग्नता रहेको प्रहरीको दाबी छ । पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित ३ जना पक्राउ परेको चर्चा रहे पनि सीआईबीले यसबारे केही स्पष्ट पारिसकेको छैन ।

सीआईबी प्रमुख उत्तमराज सुवेदीले आरोपितहरु पक्राउ भइरहेको समयमा उनीहरुको नाम भन्न नमिल्ने बताए । ‘यसले अनुसन्धान प्रभावित हुनसक्छ’, एआईजी सुवेदीले भने ।

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको चर्चा चलेपछि सीआईबीले डीएसपीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर अनुसन्धान गरेको थियो । तर, त्यसअघि देखि नै सीआईबीले प्रतियोगितालाई नजिकबाट हेरिरहेको थियो ।

स्पट फिक्सिङकै चर्चाबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एन्टी करप्सन टोली आकस्मिक रुपमा नेपाल आइपुगेको थियो । उक्त टोलीले प्रतियोगितामा रहेको एन्टी करप्सन युनिटसहित सीआईबीसँग समेत छलफल गरेको थियो ।

एआईजी सुवेदीले स्पट फिक्सिङबारे आईसीसीको समेत छानबिन प्रतिवेदन प्राप्त भएको र आफ्नो अनुसन्धानसँग अधिकांश मेल खाएको बताए ।

‘आईसीसीले जहाँ जहाँ र जो जोमाथि शंका गरेको छ । हाम्रो अनुसन्धान पनि त्यसमै केन्द्रित थियो । यसरी हेर्दा आईसीसीले दिएको प्रतिवेदनसँग ९० प्रतिशत हाम्रो अनुसन्धान म्याच हुन्छ’, सुवेदीले भने ।

उनले आईसीसीको प्रतिवेदनलाई अभियोजनका क्रममा समेत प्रयोग गर्न सकिने अवस्था रहेको बताए । उनले थपे, ‘यसरी स्पट फिक्सिङ भएको भनेर देखाइएको छ कि भोलिका दिनमा हुने घटनाको अनुसन्धानमा समेत यो प्रतिवेदन सहयोगी हुनसक्छ ।’

स्रोतका अनुसार छानबिन समितिले शुक्रबार नै एआईजी सुवेदीलाई प्रतिवेदन बुझाएको थियो । त्यसै दिन एआईजी सुवेदीले आईजीपी धिरजप्रताप सिंहसमक्ष प्रतिवेदन पेश गरेका थिए ।

त्यसक्रममा अनुसन्धान प्रतिवेदनबारे आईजीपी सिंहलाई भिडिओ प्रेजेन्टेसनसमेत देखाइएको थियो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले प्रतिवेदन कन्भिन्सिङ देखिएपछि पक्राउ र मुद्दाको प्रक्रिया अगाडि बढाउने निचोड निकालिएको थियो ।

स्पट फिक्सिङमा को को संलग्न रहेकोबारे सीआईबीले गोप्य राखेको छ । तर, नेपाली र विदेशी खेलाडी, टीम अफिसियलदेखि सेभेन थ्री स्पोर्ट्सका अधिकारीसम्म संलग्न रहेको बताइएको छ । एआईजी सुवेदीले केही दिनभित्र सबै कुरा सार्वजनिक गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *