अदुवाको बीउ खरिदमा करिब २ करोड भ्रष्टाचार ठहरसहित गल्याङका पूर्वमेयर र ४ कर्मचारीविरुद्ध मुद्दा – Nepal Press

अदुवाको बीउ खरिदमा करिब २ करोड भ्रष्टाचार ठहरसहित गल्याङका पूर्वमेयर र ४ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङका तत्कालीन मेयर भुपराज अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदुवाको बीउ खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन मेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, बाली विकाश अधिकृत अरविन्द मणी त्रिपाटी, लेखापाल राजेन्द्र रेग्मी, खरिददार सन्तोष कोइराला, बीउ आपूतिकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो ।

स्पेसिफिकेसनमा उल्लेखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

अनियमितता गर्ने नियतले अस्वभाविक दररेट कायम गरेर अदुवा खरिद गरेको र नगरपालिकालाई १३ लाख अतिरिक्त आर्थिक भार पुर्याएको भन्दै मेयर अधिकारीविरुद्ध अभियोग लगाइएको छ । यस्तो खरिद गरिद गरिएको अदुवा विउ गुणस्तरहीन रहेको भन्दै नगरपालिकाका मेयरसहित ४ कर्मचारी गरेर ५ जनाविरुद्ध एक करोड ९७ लाख ७० हजार ४९९ सय रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।

नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गर्दा बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरेको थियो । स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान गरेको पाइएको अख्तियारले जनाएको छ ।

अदुवाको बीउ आपुर्तीकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि न्यौपानेविरुद्ध २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको छ ।

अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्धा दायर गरेको छ । गुणस्तरहीन अदुवाको बीउ बिक्री गरेर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानी नोक्सानी पु¥याएको भन्दै आयोगले न्यौपानेलेसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

नगरप्रमुख अधिकारी नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । स्याङजाका नेकपा (एमाले) जिल्ला कमिटि सदस्यसमेत रहेका अधिकारीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीको कुनै पनि जिम्मेवारी नरहनेगरी पार्टीले कारवाही गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर