अब प्रदेश अस्पताल सुर्खेतमै मृगौला प्रत्यारोपण हुने – Nepal Press

अब प्रदेश अस्पताल सुर्खेतमै मृगौला प्रत्यारोपण हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालमा मृगाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । सोमबार अस्पतालका निर्देशक डा. डम्बर खड्काले अस्पतालका विभिन्न गतिविधि, मौजुदा सेवा, विस्तारित थप सेवा र अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै मृगाैला प्रत्यारोपण सुरु हुने जानकारी दिए ।

प्रदेश अस्पतालले बिरामीहरुको चाप बढेसँगै नयाँ सेवा सुविधा विस्तार कार्य अघि बढाएको जनाएको छ । यो अस्पताल सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडामा २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको थियो । उक्त अस्पताल २०२४ सालमा सुर्खेत उपत्यकामा स्थापनान्तरण गरियो ।

यस्तै २०२९ सालमा १५ शय्या र २०४९ सालमा २५ शय्याको जिल्ला अस्पताल बनेको उक्त अस्पताल २०६३ साल फागुन ७ मा ५० शय्याको मध्यपश्चिम क्षेत्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । मुलुक संघीयतामा गएसँगै २०७५ साल कार्तिक १३ गते कर्णालीको प्रदेश अस्पतालको रुपमा रुपान्तरण गरी प्रदेश सरकारको मुख्य र संघीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको २९७ शय्यामा सेवा विस्तार गरिएको थियो ।

चालू आर्थिक वर्षमा आँखाको शल्यक्रिया सेवा (फेको पद्धति), सात वटा मोडुलर ओटी सञ्चालन, डाइलासिस सेवा विस्तार (आईसीयू र पोष्ट अपमा), अर्थोपेडिक सर्जरी हप्तामा ६ दिन, जनरल सर्जरी हप्तामा ४ दिन सेवा सेवा विस्तार गरिएको छ ।

त्यस्तै मृगौला प्रत्यारोपण सेवाको सम्झौता भई माघदेखि सेवा सञ्चालन हुने र अस्पताल भवनको तला थपको टेण्डर प्रक्रियामा रहेको अस्पतालका निर्देशक खड्काले जानकरी दिए ।

बढे बिरामी

अस्पतालमा ६ महिनायता बिरामीको संख्या अत्यधिक बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार ३४० जनाले ओपीडी सेवा लिएकोमा यो आर्थिक वर्षको पहिलो ६ महिनामा ८४ हजार २८८ जना पुगेका छन् ।

यस्तै अघिल्लो आवमा १० हजार ७४६ जनाले महिनामा इण्डोर सेवा लिएका थिए । यस वर्षको पहिलो ६ महिनामा ११ हजार ८९१ जना पुगेका छन् । अघिल्लो वर्ष ७ हजार २२६ जनाले इमरजेन्सी सेवा लिएकोमा ६ महिनायता यो संख्या १० हजार ७८६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर