सरकारी निकायको चेपुवामा हवाई कम्पनी, कसले खोज्ने यती एयर दुर्घटनाका मृतकको शव ? – Nepal Press

सरकारी निकायको चेपुवामा हवाई कम्पनी, कसले खोज्ने यती एयर दुर्घटनाका मृतकको शव ?

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अझै दुई जनाको शव भेटिएको छैन । माघ १ गते कास्कीको पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेतीको खोंचमा यती एयरलाइन्सको एटीआर ७५-५०० कलसाइन नाइन एन- एएनसी विमान दुर्घटना भएको थियो । जसमा ७२ जना सवार थिए ।

७२ जनामध्ये ४८ जनाको शव र २ वटा बडी पार्टको पोका फरेन्सिक मेडिसिन विभाग महाराजगञ्जमा ल्याइएको थियो । २२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम भएको थियो । ती शव पहिचान गरी आफन्तले बुझिसकेको जनाइएको छ ।

२ वटा बडी पार्टमा ससाना टुक्रामात्र भएकाले त्यसलाई शव भन्न नमिल्ने फरेन्सिक मेडिसिन विभागले जनाएको छ । सो घटनामा परेका २ जनाको शव नभेटिएको भन्दै खोजतलासको लागि समन्वय गर्न फरेन्सिकले जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्र लेखेको छ ।

तर, जिल्ला प्रशासन कार्यालय कास्कीले भने उद्धार कार्यमा बेवास्ता गरेको भन्दै मृतकका आफन्तहरुले आलोचना गरेका छन् । ७२ जनाकै मृत्यु भएको आधिकारिक पुष्टि गर्न नसक्दा आफन्तहरु दाहसंस्कारका लागि शवको प्रतीक्षामा छन् । प्रशासन कार्यालयले खोजी कार्यमा ढिलासुस्ती गर्दा नभेटिएका २ जना कहाँ छन् भन्ने प्रश्न उठेको छ ।

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयले खोजी कार्य सकिएको आशयको पत्र पठाएको छ । ‘यदि उद्दार सकिएको भए बाँकीको अवस्था किन पुष्टि हुँदैन ? बाँकी भए किन खोजीलाई तीव्रता दिइँदैन’, ती अधिकारीले भने ।

नेपाल प्रेसले जिल्ला प्रशासन कार्यालय कास्कीलाई पनि खोजी कार्य रोकिएको हो भन्ने प्रश्न गर्दा खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनका अनुसार खोजी कार्य अझै पनि भइरहेको छ ।

ढकालले भने, ‘हामीले ७२ पोका नै दिएका थियौं । तर, अझै पुगेन भनिएको छ । त्यसो हो भने अझै खोज्छौं ।’

कहिलेसम्म खोजिरहने भन्ने विषयमा भने उनले स्पष्ट पारेनन् ।

नेपाल सरकारले गठन गरेको समितिले दुर्घटनास्थल निरीक्षण गरिसकेको छ । वायुयान निर्माता कम्पनी र ब्रिटिश अथोरिटी कम्पनी, बीमा कम्पनीका प्रतिनिधिसमेतले दुर्घटना स्थलको निरीक्षण गरिसककेका छन् ।

अबदेखि नेपाल सरकारको जिल्लास्थित सुरक्षा निकायको निगरानीमा यती एयरलाइन्सले नै उद्धार गर्नुपर्ने व्यवस्था गरिएको छ । यता यतीले पनि समयमै पुष्टि नहुने र खोज्न पनि नसक्दा समस्या भएको बताएको छ ।

सरकारी निकायबीच नै शव खोजीमा समन्वय नहुँदा आफन्तको आक्रोश विमान कम्पनीले खेप्नुपरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर