अपहरणबारे प्रहरीले चासो नदेखाउँदा दुईजनाको हत्या भएको भन्दै गृहमन्त्रीको राजीनामा माग (भिडिओ) – Nepal Press

अपहरणबारे प्रहरीले चासो नदेखाउँदा दुईजनाको हत्या भएको भन्दै गृहमन्त्रीको राजीनामा माग (भिडिओ)

जनकपुरधाम । प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरू भएको छ ।

जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्वर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो । उनीहरू सितामढी जिल्लामै पर्ने आफन्तको घर जानेक्रममा अपहरणमा परेका थिए ।

अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् । करिब सयौं संख्यामा रहेको उनीहरू जनकपुरको सडकमा बसेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

आन्दोलनकारीले रोहित र विष्णुलाई न्याय दे, प्रहरी प्रशासन मुर्दावाद, गृहमन्त्री राजीनामा देऊलगायतका नारा लगाएका छन् । धनुषाका एसपी विश्वराज खड्कालाई पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

पुस २९ गते अपहरणकारीले उनीहरूको आवाज फोनमा सुनाउँदै परिवारसँग ५० लाख रूपैयँ फिरौती मागेका थिए । फिरौती मागेलगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धारमा चासो नदेखाउँदा अपहरणकारीले दुईजननाको हत्या गरेको पीडित परिवारको आरोप छ ।

धनुषाका एसपी खड्काले समयमा जानकारी नगराएको र फिरौती मागेको रेकर्ड दिन पनि ढिला गरेको कुरा मिडियामा भनेपछि पीडित परिवार आक्रोशित बनेका छन् ।

हत्या भएका विष्णुका एक आफन्तले भने, ‘एसपीले नै मिडियामा घटनाबारे नभन्नुस् भनेका थिए । तर उद्धार गर्न केही गरेनन् । जोमाथि पहिले शंका थियो, उसलाई समातेनन् । तर हत्या भएपछि ती व्यक्तिलाई समात्यो । यदि पहिले नै समातेको भए आज हत्या त गर्दैनथियो ।’

अपहरणकारीले सुरूमा ५० लाख फिरौती मागे पनि बार्गेनिङ चल्दा २० लाखमा डिल भएको बताइएको छ । त्यसपछि भने उनीहरूले मोबाइल स्वीच अफ गरेका थिए । यो घटनामा नेपाल र भारत दुवैपट्टिका अपराधीको संलग्न रहेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार भारतीय प्रहरीले पनि तीनजनालाई पक्राउ गरेको छ ।‌ अन्य ४ जनाको संलग्न रहेको र उनीहरूको पनि खोजी जारी राखेको धनुषा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर