भारतमा बीबीसीको डकुमेन्ट्रीमा किन लाग्यो प्रतिबन्ध ? – Nepal Press

भारतमा बीबीसीको डकुमेन्ट्रीमा किन लाग्यो प्रतिबन्ध ?

काठमाडौं । बेलायती विश्व सेवा बीबीसीले बनाएको ‘इन्डियाः अ मोदी क्वेस्चन’ लाइ भारतले प्रतिबन्ध लगाएको छ । उक्त डकुमेन्ट्री अपलोड गर्ने युट्युबदेखि शेयर गर्ने ट्विटर अकाउन्टहरुसम्म भारतले ब्लक गर्न सामाजिक सञ्जालहरुलाई पत्राचार गरेको छ ।

युट्युब र ट्विटरले मोदी सरकारको आग्रह पालन गरेर अकाउन्टहरुका कन्टेन्ट हटाएको अमेरिकी मिडिया भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ । अहिले विश्वभरका मिडियाहरुले भारतले प्रतिबन्ध लगाएको बीबीसी डकुमेन्ट्रीको समाचार बनाएका छन् । जनवरी १७ मा अनएयर भएको डकुमेन्ट्री भारतमा अहिले पूर्ण प्रतिबन्ध गरिएको छ ।

मोदी सरकारले डकुमेन्ट्रीलाई किन प्रतिबन्ध लगायो ?

सन् २००२ फेब्रुअरी २७ मा भएको भारतीय राज्य गुजरातको हिन्दु-मुस्लिम दंगामा आठ सय हाराहारी मुस्लिम र दुई सय हाराहारी हिन्दुको मृत्यु भएको थियो । हिन्दु तीर्थालु बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएपछि दंगा भएको थियो । दंगा हुँदा मुस्लिममाथि नरसंहार हुँदा मोदी मुकदर्शक भएको किटान गरिएको छ । दंगाको समयमा आगजनी हुँदा प्रहरीले केही नगरेको बीबीसी पत्रकारको फुटेज, बेलायतको परराष्ट्र मन्त्रालयको अप्रकाशित प्रतिवेदनलाई हवाला दिँदै डकुमेन्ट्रीले मोदीलाई मुख्य दोषी मानेको बताएको छ ।

बेलायती सञ्चारमाध्यमबाट मात्रै होइन सरकारी प्रतिवेदनको हवाला दिएर डकुमेन्ट्री आएपछि मोदी सरकार बिच्किएको छ । मोदी सरकारका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले गत बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा आक्रोश पोखेका थिए । उनले डकुमेन्ट्री पक्षपाती र बेलायती उपनिवेशकालीन मगजको उपज भएको आक्रोश पोखेका थिए । मोदीका सल्लाहकार कन्चन गुप्ताले भने डकुमेन्ट्रीलाई होस्टाइन प्रोपोगान्डा र एन्टी इन्डिया गार्बेज भन्दै डकुमेन्ट्री शेयर गर्ने ५० ट्विट ब्लक गरिएको बताएका थिए ।

बीबीसीले भने एक विज्ञप्ति प्रकाशन गरेर डकुमेन्ट्रीलाई लामो अध्ययनपछिको सामग्री भएको भन्दै लेखेको छ, ‘बीबीसी विश्वभरका महत्वपूर्ण मुद्दाहरुलाई प्रकाश पार्न प्रतिबद्ध छ ।’

गुजरात दंगामा मोदीलाई बीबीसीले किटान गरेर ‘प्रत्यक्ष दोषी’ भने पनि भारतीय अदालतले भने मोदीलाई निर्दोष करार गरेको छ । सन् २०१२ मा ५४१ पेजको आदेश दिएर मोदीलाई निन्दा गरेको छ । मोदीले अदालतबाट सफाइ पाएलगत्तै भाजपाको अध्यक्ष चुनिएका थिए । त्यसको दुई वर्षपछि सन् २०१४ को आम निर्वाचनबाट देशको प्रधानमन्त्री बनेका थिए । सन् २०१९ को आम निर्वाचनबाट मोदी पुनः भारतका प्रधानमन्त्री बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *