देशभरका केबुल व्यवसायी काठमाडौंमा- पोल भाडावृद्धि र मन्त्रालयको असमानताविरुद्ध रणनीति बनाउने – Nepal Press

देशभरका केबुल व्यवसायी काठमाडौंमा- पोल भाडावृद्धि र मन्त्रालयको असमानताविरुद्ध रणनीति बनाउने

काठमाडौं । विद्युत प्राधिकरणले अत्यधिकरूपमा पोल भाडा वृद्धि गरेको तथा सञ्चार तथा सूचना मन्त्रालयले आफूहरूलाई असमान व्यवहार गरेपछि त्यसको सामनाका लागि रणनीति बनाउन केबुल व्यवसायीहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् ।

काठमाडौं बुद्धनगरस्थित डीडीआई ब्यांक्वेटमा आकस्मिकरूपमा केबुल व्यवसायीहरू भेला भएका हुन् ।

प्राधिकरणले पोलको भाडा वृद्धि गरेको तथा सरकारले नीतिगतरूपमै आफूहरुलाई असमान व्यवहार गरेकोले भेलाले आगामी कदम तय गर्ने बताइएको छ ।

केबुल अपरेटहरहरुले वर्षौंदेखि सञ्चार मन्त्रालयमा आवाज उठाउँदै आएपनि मन्त्रालयले नसुनेको उनीहरूको गुनासो छ । जसका कारण टिभी व्यवसायमा लगानी गरिएको अरबौं रूपैयाँ धराशयी अवस्थामा पुगेको बताइएको छ । विशेषगरी इन्टरनेटमा सम्पूर्ण कन्टेन्ट धाराप्रवाह रूपमा आउने तर टिभीको हकमा चाहीँ सन्तुलित कन्टेन्ट मात्रै देखाउनुपर्ने बाध्यता रहेको एकजना केबुल व्यवसायीले बताए ।

सरकारको यही असमान व्यवहारले गर्दा अहिले मानिसहरुले टिभीभन्दा मोबाइल इन्टरनेटमा बढी प्रयोग गर्ने अवस्था बनेको जसका कारण नेपालको टिभी व्यवसाय नै समाप्त हुने स्थिति सिर्जना भइसकेको भन्दै व्यवसायीले चिन्ता जनाएका छन् ।

‘केबुल अपरेटर मात्रै नभएर नेपालका भएका जति टिभी ब्रोडकास्टरहरु छन्, तिनीहरुकै भविष्य धरापमा पर्ने अवस्था सिर्जना भएको छ’, एकजना व्यवसायीले नेपाल प्रेसलाई भने, ‘नेपालमा विद्यमान राष्ट्रिय प्रशारण नियमावली छँदैछ । केबाट प्रशारण गर्ने, के प्रशारण गर्ने भन्ने पनि छँदैछ । तर त्योभन्दा बाहिर इन्टरनेटको फिल्ड एकदमै वृहत भयो । त्यसले गर्दा सरकारले त्यसलाई कन्ट्रोल गर्न सकेन । नियमन पनि गर्न नसकेको कारणले गर्दाखेरि केबुल टिभीमा लागेको अरबौंको लगानीसमेत ध्वस्त हुने भएको भन्दै यसको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्छ ।’

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर