अखिल क्रान्तिकारीको विवाद- खुला सत्र पञ्चाको, कमिटी बन्यो पवन कार्की समूहको – Nepal Press

अखिल क्रान्तिकारीको विवाद- खुला सत्र पञ्चाको, कमिटी बन्यो पवन कार्की समूहको

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आन्तरिक विवाद झन् छताछुल्ल हुँदै गएको छ । विधि र सिद्धान्त मिचेर पञ्चा सिंहले एकलौटी संगठन चलाएको भन्दै पवन कार्की समूहले देशव्यापीरूपमा समानान्तर कमिटी बनाइरहेको छ ।

आइतबारको घटना भने अलि फरक छ । पञ्चा नेतृत्वको समूहले खुल्ला सत्र चलाएको पोखरा विश्वविद्यालयअन्तर्गतको कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी मूल इकाई कमिटीको ९ औं इकाई सम्मेलनको बन्दसत्र भने पवन कार्की समूहले सञ्चालन गर्‍यो ।

चापागाउँ ललितपुर सातदोबाटोमा भएको सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि पञ्चा नेतृत्वको कमिटीका उपाध्यक्ष मिलन एमसी थिए । अर्का उपाध्यक्ष क्षितिज सापकोटा, सचिवहरू सञ्जय कालधन, प्रसुन कार्की, उपेन्द्र शाही र कोषाध्यक्ष भूषण शाहीलगायतका नेता पनि अतिथिको रूपमा सहभागी भएका थिए ।

तर, कमिटी चयन गर्ने बेलामा विद्यार्थी नेताहरूले आ-आफ्ना मान्छे च्याप्न थालेपछि राति विवाद बढेको बताइएको छ । इकाइ र केन्द्रका नेताहरु बीच विवाद बढ्दै जाँदा केन्द्रीय नेताहरूलाई अनावश्यक हस्तक्षेप नगर्न भन्दै त्यहाँबाट जान भनिएको थियो ।

त्यसपछि राति १० बजेतिर पवन समूहका नेताहरूलाई बोलाएर कमिटी घोषणा गरिएको हो । कार्की पक्षका केन्द्रीय नेता सागर केसी, निरोज श्रेष्ठ र सुरज कटवाललगायतका नेताको उपस्थितिमा खिम सुनारलाई अध्यक्ष घोषणा गरेर सम्मेलन समापन गरेका छन् ।

‘कार्यकर्ताहरूले पञ्चा सिंह नेतृत्वको कमिटीलाई देशभरबाट बहिष्कार गर्न थालेका छन् । खिम सुनारको नेतृत्वमा हिजो ३५ सदस्य इकाई कमिटी घोषणा भएको छ र यही कमिटी नै आधिकारिक हो’, क्रान्तिकारी पवन समूहा प्रवक्ता उपदेश यादवले नेपाल प्रेससँग भने ।

यता पञ्चा सिंह समूहले भने बन्दसत्र स्थगितमात्र भएको भन्दै आज पुनस् सुचारु गर्ने बताएका छन् । अध्यक्षका आकांक्षी विवश शिवाकोटीले पवन समूहका अध्यक्ष भएकोमा खिमलाई बधाई भन्दै २२औं राष्ट्रिय सम्मेलनबाट आधिकारिक अध्यक्ष पञ्चा रहेको भन्दै हिजो स्थगित बन्दसत्र आज पूर्णरूपमा सुरू गर्ने फेसबुकमा लेखेका छन् ।

शिवाकोटी महासचिव दिपेश पुन निकटका मानिन्छन् । पवन कार्की समूहले अध्यक्ष बनाएका खिमलाई भने पञ्चाले पनि नेतृत्वमा ल्याउन चाहेकी थिइन् । यसअघि एक नम्बरको उपाध्यक्ष भएकाले पनि सिनियरिटीको हिसाबले खिम सुनारलाई अघि सारिएको प्रवक्ता यादवको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर