प्रदीप नेपाललाई निवासमा पुगेर भेटे सभामुखले – Nepal Press

प्रदीप नेपाललाई निवासमा पुगेर भेटे सभामुखले

काठमाडौं । सभामुख देवराज घिमिरेले पुराना वामपन्थी नेता प्रदीप नेपाललाई भेटेका छन् । घिमिरे नेता नेपालको गोठाटारस्थित निवास पुगेका थिए । प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सूर्य थापा र वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा पनि साथमै पुगेका थिए ।

सभामुख घिमिरेले नेपाल आफ्नो राजनीतिक गुरु भएकोले आफ्नो उपलब्धिमा सधैँ प्रेरणाका रूपमा लिने बताएका थिए । सँगै रहेका सांसद सूर्य थापाले आफूहरू प्रदीप नेपालकै मार्गदर्शनमा रहेर काम गरेकोले चुनाव जितेपछि गएर भेटेको बताए ।

‘जाने संयोग परेर म पनि गएको हो । सभामुखको पनि उहाँ प्रेरक व्यक्तित्व हो । चुनाव जितेपछि मैले पनि भेटेको थिइनँ । उहाँ पनि हिजै जान खोज्नुभएको रहेछ हाउस भएकाले जान पाउनुभएको रहेनछ’, करिब एक घण्टाको बसाईबारे जानकारी दिँदै सांसद थापाले भने, ’मलाई त देवराज घिमिरेसँग प्रदीप नेपालले नै टिचिङपछाडिको घरमा २०५३ साल असोज ६ गते चिनाउनुभएको हो ।’

नेपालसँग सभामुख घिमिरेको मामा-भाञ्जाको पारिवारिक सम्बन्धसमेत छ । भेटमा समयसामयिक राजनीतिबारे भने केही कुरा नभएको उनले बताए । थापाका अनुसार आफूहरूलाई हुर्काएकोले सम्मानस्वरूप भेट्नमात्र गएको हो ।

एमालेका दोस्रो पुस्ताका अधिकांश नेता प्रदीप नेपालका कार्यकर्ता हुन् । पञ्चायतकालमा सञ्जय थापा उपनामबाट राजनीतिमा सक्रिय नेपाललाई कुशल संगठकको रूपमा नेताहरूले मान्छन् । केही समययता स्वास्थ्य समस्याबाट पीडीत नेपाल सक्रिय राजनीतिबाट टाढा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर