राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बाझियो संविधान र कानून- मिति तोक्न आयाेग भयाे असफल ! – Nepal Press

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बाझियो संविधान र कानून- मिति तोक्न आयाेग भयाे असफल !

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने मिति तय गर्ने विषयमा संविधान र निर्वाचन कानून बाझिएको छ । संविधानमा राष्ट्रपतिको कार्यकाल ५ वर्षसम्म हुने उल्लेख छ । त्यस्तै संविधानमा यदि राष्ट्रपति निर्वाचित समयमै हुन नसकेको अवस्थामा अर्को राष्ट्रपति निर्वाचित नहुञ्जेलसम्म पनि कायमै रहने व्यवस्था छ ।

तर, निर्वाचनसम्बन्धी कानूनमा भने राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

संविधान र कानून बाझिएपछि निर्वाचन आयोग फागुन मसान्तसम्ममा राष्ट्रपति निर्वाचन गर्ने निष्कर्षमा पुगेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया संविधान र कानून बाझिएकाले छलफलपछि फागुन मसान्तसम्ममा राष्ट्रपति निर्वाचन गर्ने टुंगोमा आयोग पुगेको बताए ।

यद्यपि निर्वाचन कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउन आयोग असफल हुने देखिएको छ । आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तिमा एक महिनाअघि नै निर्वाचन मिति तोकेर त्यसको जानकारी सरकारलाई दिनुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ को उपदफा (१) मा भनिएको छ, ‘निर्वाचन आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तिमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी त्यसको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ ।’

त्यस्तै उपदफा २ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि पहिलो पटक हुने निर्वाचनको हकमा संघीय संसद र प्रदेशसभाको गठन भएको एक महिनाभित्र निर्वाचन हुने गरी आयोगले निर्वाचनको मिति तोकी त्यसको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ ।’

यो दफा भने २०७४ सालको निर्वाचनपछि लागू भइसकेको छ ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । उपधारा २ मा यस व्यवस्थाबमोजिम निर्वाचित भएको राष्ट्रपतिको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधानबमोजिमको कार्य सम्पादन गर्ने भनिएको छ ।

आयोगका अनुसार २०७४ सालमा सम्पन्न आम निर्वाचनपछि राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो । त्यसै दिन निर्वाचन परिणाम घोषणा भएकाले त्यसै दिनदेखि पदावधि सुरू भएको मानिन्छ । जसअनुसार २०७९ फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिनेछ ।

यसैलाई आधारमा मान्दा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार आउँदो माघ २८ गतेभित्र राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्छ ।

आयोगका अनुसार मिति तोकिएपछि राष्ट्रपति निर्वाचन हुन कम्तिमा पनि एक महिना लाग्छ । त्यसअनुसार गएको पुस २८ गतेभित्रै निर्वाचन मिति तय भइसक्नुपर्ने थियो । तर, निर्वाचन मिति तोक्न आयोग असफल भइसकेको छ ।

‘निर्वाचन कानूनले राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि नै नयाँ राष्ट्रपति निर्वाचित गरिसक्नुपर्छ भन्छ । संविधानले राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुनेछ भनेको छ । फेरि निर्वाचित नभएसम्म कायम रहने पनि भनेको छ । ऐन संशोधन गर्दा पनि हुन्थ्यो । त्यो पनि अहिले सम्भव भएन’, प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल प्रेससँग भने, ‘सरकारसँग सुझाव लिएपछि सरकारले सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि गरौं भन्ने सुझाव दियो । त्यसैअनुसार फागुन मसान्तसम्म राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गरिसक्छौं ।’

उनले वर्तमान राष्ट्रपतिको पदावधि समाप्त हुनुअघि नै निर्वाचन गरिसक्ने जिकिर गरे । ‘संविधान र ऐनको कुरा नमिलेकाले मिति तोक्न नसकिएको हो । तर, लामो समय राखेरमात्रै मिति तोकौं भनेर हो’, उनले थपे, ‘वर्तमान राष्ट्रपतिको कार्यकाल सकिन केही दिनअघि नै शपथग्रहण गर्ने गरी निर्वाचन गरिसक्छौं ।’

आयोग स्रोतका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिन कम्तिमा ३५ दिनअघि निर्वाचनको मिति तोक्ने तयारी छ । जसअनुसार वर्तमान राष्ट्रपतिको कार्यकाल सकिने र नयाँ राष्ट्रपतिले शपथ लिने दिन एउटै हुने सम्भावना छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले भने अहिलेसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्नेबारे कुनै छलफल नभएको बताए । उनले नेपाल प्रेससँग भने, ‘राष्ट्रपति निर्वाचनको मिति तोक्ने कुनै तयारी छैन । निर्वाचनको मिति तोक्ने भनेको सरकारसँग परामर्श गरेर हो । आयोगले कानूनी व्यवस्थाबारे नवनिर्वाचित प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा सरकारलाई जानकारी गराइसकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर