सबै बैंकको आधारदर बढ्यो, ऋणको ब्याजदर झन् महँगो हुने – Nepal Press

सबै बैंकको आधारदर बढ्यो, ऋणको ब्याजदर झन् महँगो हुने

कुन बैंकको आधारदर कति ? (सूचीसहित)

काठमाडौ । बैंकहरूको आधारदर निकै बढेको छ । योसँगै कर्जाको ब्याजदरसमेत बढ्ने देखिएको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको बैंकहरूको प्रतिवेदनअनुसार २० वटै वाणिज्य बैंकको आधारदर (बेसरेट) १.९९ प्रतिशत देखि ३.५३ प्रतिशतसम्म बढेको हो ।

यो प्रतिवेदको आधार दर माघदेखि लागू हुने भएकाले ब्याजदर स्वाभाविकरूपमा बढ्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए । उनका अनुसार वैशाखसम्म यो बेसरेटको प्रभाव देखिनेछ ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले आधारदर बढ्दा पुराना ऋणको ब्याजदर नघट्ने बताए । नयाँ ऋणीको हकमा बैंकहरूले प्रिमियम कम गरेर केही कम ब्याजमा ऋण प्रवाह गर्न भने सक्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रयोग गर्ने ऋणीलाई समान रूपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरू समावेश गरिएको दर नै आधार ब्याजदर हो । यसकारण आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधारमात्र हो । यही आधारमा टेकेर बैंकहरूले कति प्रतिशत थप गर्ने हो निर्धारण गर्छन् ।

बैंकहरूले हरेक त्रैमासमा आधारदर प्रकाशित गर्न पाउँछन् । पुसमा बढाएर आधारदर प्रकाशित गरेका बैंकहरूले आधारदर पुनरावलोकन गर्न चैतमसान्तसम्म कुर्नुपर्ने देखिन्छ ।

केही दिनअघि निक्षेपको ब्याजदर घटाएका बैंकहरूले क्रमश: कर्जाको ब्याजदरसमेत कम हुँदै जाने आँकलन गरेका थिए । तर, आकाशिएको आधारदरले ऋणीलाई झन मारमा पार्ने देखाएको छ ।

अहिले सबैभन्दा कम आधारदर नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको ९.६७ प्रतिशत छ । यस्तै एकल अंकको आधारदर नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट वाणिज्य बैंकको मात्र देखिएको छ । अन्य बैंकभन्दा तुलनात्मकरूपमा यी बैंकका ऋणीले कम ब्याजदरमा ऋण पाउने सम्भावना देखिएको छ ।

हिमालयन बैकसँग मर्जरको प्रक्रियामा रहेको सिभिल बैंकको सबैभन्दा बढी आधारदर छ । लक्ष्मी, माछापुछ्रे, प्राइम, सनराइज, कृषि विकास, प्रभु, एनआईसी एसिया र सिटिजन्स बैंकको आधारदर ११ प्रतिशतभन्दा बढी छ । नेपाल एसवीआई, एनएमबी बैंक, हिमालयन, ग्लोबल आईएमई बैंकको आधारदर भने ११ प्रतिशतभन्दा कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर