सुर्खेत जीप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी – Nepal Press

सुर्खेत जीप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-११ रत्नरामार्गको भेरी पुलनजिकै झुप्रा खोलामा आज बिहान करिब २ बजेतिर गाडी दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी भएको खुलेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको थियो ।

उक्त गाडीमा सवार पाँच जना स्वास्थ्यकर्मीमध्ये चारजनाको उपचारका क्रममा मृत्यु भयो । गम्भीर घाइते एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मृत्यु हुनेमा जीप चालक भैरवी गाउँपालिका हाल वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका- ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका- ५ का ३१ वर्षीय वविन शाही र दैलेख गुराँस गाउँपालिका- ३ का ३६ वर्षीय राजेन्द्र बीसी छन् । दैलेख भैरवी गाउँपालिका- ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते छन् ।

उनीहरू वीरेन्द्रनगर फकिदैँ गर्दा रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र वविन गम्भीर घाइते भए । बेहोसीमै वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब २ बजेतिर प्रहरीले उनीहरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । वीरेन्द्रराज शाहीबाहेक अन्य चारजनाको उपचारका क्रममा निधन भएको हो ।

उनीहरू पाँचैजना साथी हुन् । यस्तै, दीपेन्द्रजंग शाही डुगेश्वर गाउँपालिका स्वास्थ शाखा दैलेख, बबिन शाही भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं), र राजेन्द्र बीसी गुराँस गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा जनस्वास्थ्य निरीक्षक (छैठौं) मा कार्यरत थिए । दुर्घटना परी घाइते भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं) वीरेन्द्रराज शाही रहेका छन् ।

गाडीचालक सागर शाही सुर्खेतमा रारा मेडिसिन डिस्ट्रिब्युटर सञ्चालन गर्दै आएका थिए । उनीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार आयोजना गरेको एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा सहभागी भएर फकिनेक्रममा दुर्घटनामा परेका थिए ।

उनीहरू शनिबार नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरूको प्रदेशस्तरीय बैठकमा सहभागी हुन सुर्खेतमा भेला भएको बताइएको छ । राति अबेर छिन्चुमा खानपिन गरेर करिब १ बजेतिर पाँचैजना वीरेन्द्रनगरतर्फ फर्किंदै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर