गोदावरीमा सात दिने एडभान्स स्काउट तालिम सम्पन्न (तस्विरहरुसहित) – Nepal Press

गोदावरीमा सात दिने एडभान्स स्काउट तालिम सम्पन्न (तस्विरहरुसहित)

ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गर्ल्स स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ ।

ललितपुरको गोदावरी नगरपालिकास्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ देखि ८ गतेसम्म सञ्चालित तालिमको समापनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले तालिममा सहभागी स्काउटरहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ सत्यनारायण शाही र महिलातर्फ विजयश्वरी अमात्य थिए । सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरुले स्काउटिङका विभिन्न विषयवस्तुबारे तालिम प्रदान गरेका थिए ।

नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिम समापनमा प्रमुख अतिथि भण्डारीले स्काउटिङ शिक्षा बालबालिकाको सर्वाङ्गीण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गरे ।

स्काउट शिक्षाले विद्यालय तहका बालबालिकालाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकाले स्काउट तालिम आवश्यक रहेको उनले बताए ।

समारोहमा गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले अब हरेक विद्यालयमा स्काउट विस्तार गर्न लागिपर्न आग्रह गरिन् ।

स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरेको बागमती प्रदेशका संयोजक शिवराम अर्यालले जानकारी दिए । उनले तालिम सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

सात दिन लामो प्रशिक्षणका प्रशिक्षार्थीहरूले तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनमा सघाउ पुग्ने प्रतिक्रिया दिए ।

प्रशिक्षार्थी शनी शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामूहिक रुपमा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण भएको बताए ।

ललितपुरमा एडभान्स तालिम भएको यो पहिलो पटक हो । तालिम भव्य रुपमा सम्पन्न भएको गोदावरी स्काउटका संयोजक दीपक अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *