रेमिट्यान्स वैधानिक च्यानलबाट भित्र्याएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँछौं: अर्थमन्त्री पौडेल – Nepal Press

रेमिट्यान्स वैधानिक च्यानलबाट भित्र्याएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँछौं: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताए ।

पौडेलले भने ,‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौं । लिगल च्यानलबाट भित्र्याउन लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ ।‘

रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जाने उल्लेख गरे ।

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको उनले बताए ।

कार्यक्रमका सहभागीहरुले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षालगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *